प्रचण्ड लगायतले माओवादी केन्द्र परित्याग गरेको भन्दै किरातीको अध्यक्षतामा बैठक

काठमाण्डौ, ३० जेष्ठ । पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरेको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी पार्टीलाई सशक्त रूपले अघि बढाउने निर्णय गरेको छ ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले महान जनयुद्वद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिन बैठक बसी विभिन्न निर्णय गरिएको जानकारी दिए ।

बैठकले राष्ट्रियता, जनवाद र जनजीविकाबारे ११ बुँदे तथा राजनीतिक तथा संगठनका विषयमा अध्यक्ष गोपाल किरातीले प्रस्तुत गरेको पाँचबुँदे निर्णय पारित गर्दै महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई निरन्तरता दिने घोषणा गरेको छ ।

आयोजक समितिको अध्यक्षमा गोपाल किरातीलाई चयन गरिएको छ । महाधिवेशन आयोजक समितिमा ७ सय १ जना, पोलिटब्यूरोमा १ सय ७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन गरिएको किरातीले जानकारी दिए ।

पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासमा जोड दिने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपयोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने उनले बताए ।