कलाकार भीमबहादुर थापाको निधन

काठमाण्डौ, ३० जेष्ठ । कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार बिहान २ बजेतिर आफ्नै निवास काठमाडौं मैतीदेवीमा उनको निधन भएको हो ।  सैनिक अस्पताल छाउनीबाट घर लगेपछि उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

थापा लामो समयदेखि छाती, फोक्सोलगायतका रोगबाट पीडित थिए । उनको जन्म १९८३ असार १३ गते खोटाङको लामिडाँडामा भएको थियो । उनले बेलायती सेनामा भर्ना भएर बहादुरीका साथ दोस्रो विश्वयुद्ध लडेका थिए ।

सैनिक रेडियो कार्यक्रम समेत सञ्चालन गरेका थापाले थुप्रै नेपाली फिल्म, टेलिफिल्म, रेडियो नाटक र विज्ञापनमा अभिनय गरेका छन् । ओजिलो संवादका कारण रेडियो नाटकहरूमा सेनानी भीमबहादुर थापा धेरै स्रोताका बीचमा लोकप्रिय थिए ।

श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर दिउँसो प्रज्ञा भवन कमलादीमा राखिने र बुधबार अपराह्न नै पशुपतिस्थित अार्यघाटमा अन्त्येष्टि गरिने कलाकार दिपकराज गिरीले बताए ।  भीमबहादुर रेडियोका लोकप्रिय प्रस्तोता प्रकाश थापाका पिता हुन् ।