भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै ३ नेपाली विश्व-साइकल यात्री

काठमाण्डौ, ४ जेष्ठ । भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण पूरा गरेका छन् ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षेत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

नेपालको झण्डा, बुद्धको झण्डा लिएर यात्रामा निस्केका तीन यात्रीले नेपालका विभिन्न भाग, भारत, बंगलादेश, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, बु्रनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, इजरायल, चिली, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र अमेरिकाको भ्रमण गरेका हुन् ।

साइकल यात्रीले आज पत्रकार सम्मेलन गरी नेपाललाई विश्वमाझ चिनाउन आफूहरू साइकल यात्रामा निस्केको जानकारीसमेत दिएका छन् । पत्रकार सम्मेलनमा विश्व साइकल यात्रीका संयोजक अनिश ढकालले सन् २०१६ डिसेम्बरमा पोखराबाट विश्व साइकल यात्रा पूरा गरेको जानकारी दिए ।

यात्रामा जान चाहेको ठाउँमा भिसा लाग्ने समस्या हुने गरेको बताउँदै यात्रीहरूले आगामी दुई महिनाबाट युरोपका १२ देशको भ्रमण गर्न लागेको बताए । पाँच वर्षमा विश्वका सबै महादेशको भ्रमण गर्ने उनीहरूको योजना छ ।