चितवनमा फेरि भेटियो बर्ड फ्लु

चितवन, ४ जेष्ठ । कुखुरापालनको लागि राजधानी मानिएको चितवन जिल्लामा फेरि बर्ड फ्लु भेटिएको छ ।

राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईको अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा दुई जना किसानको खोरमा कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु भएको पुष्टि भएको हो ।

स्थानीय कुखुरापालक राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा खोरमा वैशाख १५ गते २७ सय कुखुरा मरेका थिए । मरेका कुखुराको नमूना परीक्षण गर्दा बर्डफ्लु देखिएको पुष्टि बिहीबारमात्रै भएको बताइएको छ ।

शुक्रबार उक्त कुखुराको खोर वरपरका कुखुरा र हाँस मार्ने र तथ्याङ्क संकलन गर्ने काम सम्पन्न गरिएको डा. चापागाईले जानकारी दिए । यसअघि गएको चैत २२ गते पूर्वी चितवनको रत्ननगर-१५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका थिए ।