नेपालको विकास कार्यक्रमका लागि जापानी सहयोग

काठमाण्डौ, ४ जेष्ठ । जापान सरकारले नेपालको विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रममा जापान सरकारले उक्त सहयोग उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच नेपालका लागि जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डाक्टर राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जापानी राजदूत ओगवाले प्राकृतिक विपदमा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अर्थमन्त्रालयका सचिव खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने जानकारी दिए ।

जापानले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि यसअघि पनि सहयोग गर्दै आएको थियो ।