Breaking News

दुर्इ पार्टीबीच एकता भएकोमा सांसदहरूले दिए शुभकामना

काठमाण्डौ, ४ जेष्ठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी निर्माण भएकोमा सासंदहरूले शुभकामना दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनीहरूले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको स्वागत गर्दै त्यसले नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा सहयोग पुग्ने बिश्वास व्यक्त गरेका हुन् ।

बैठकमा सांसद खगराज अधिकारीले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गरेको बताए । उनले मुलुकको परिवर्तनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न एकता अपरिहार्य रहेको बताए ।

त्यस्तै सांसद हृदयेश त्रिपाठीले पनि दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई स्वागत गर्दै सफलताको कामना गरे । उनले तराईका विभिन्न जिल्लामा विगतमा भएका घटनाको छानबिन गर्न गठन भएको आयोगको प्रतिवेदनअनुसार काम–कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सञ्जय गौतमले एमाले र माओवादी केन्द्रको एकतालाई स्वागत गर्दै समृद्ध नेपाल निर्माणका लागि प्रमुख प्रतिपक्षीकोे तर्फबाट उचित भूमिका विर्वाह गर्ने बताए ।

सांसद दुर्गा पौडेलले संविधानमा उल्लेख भएको समाजवादउन्मुख व्यवस्था कार्यान्वयनका लागि बिहीबार भएको एमाले र माओवादी केन्द्रबीचको एकता प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

shares