‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ जेठ १६ देखि २१ सम्म हुने

काठमाण्डौ, ४ जेष्ठ । आगामी १६ देखि २१ जेठसम्म स्काउट बृहत् भेला ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ नुवाकोट ककनीस्थित अन्तराष्ट्रिय ज्याम्बोरी स्थलमा हुने भएको छ ।

७ प्रदेशका ७० भन्दा बढी जिल्लाका करिब ५ हजार स्काउट सहभागी हुने ज्याम्बोरीमा विभिन्न क्रियाकलाप समावेश गरिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

ज्याम्बोरीका लागि २ करोड ५० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा सरकारले २ करोड रूपैयाँ प्रदान गरिसकेको छ भने नपुग रकम नेपाल स्काउटले जुटाउनेछ । विभागीय मन्त्रालयको हैसियतमा युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई ज्याम्बोरीका लागि २ करोड रुपैयाँ प्रदान गरेको हो ।

तेस्रो ज्याम्बोरीमा नेपालका स्काउटका अतिरिक्त भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, एसिया प्रशान्त क्षेत्र (एपीआर) सदस्य मुलुकका स्काउट, (एपीआर) संगठन पदाधिकारी, विश्व स्काउट संगठन केन्द्रीय कोषाध्यक्षसहित अमेरिकासमेतका स्काउट सहभागी रहने नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक राजिव खत्रीले जानकारी दिए ।

यसअघि नेपालमा २०४३ साल १६ देखि २२ चैतसम्म कीर्तिपुर, काठमाडौंमा पहिलो र २०६९ साल २७ चैतदेखि २०७० साल २ बैशाखसम्म चितवनको टिकौलीमा दोस्रो ‘नेपाल स्काउट ज्याम्बोरी’ सञ्चालन भएको थियो ।