Breaking News

गणतन्त्र सरकारी व्यवस्था नभई जनव्यवस्था हो: प्रम अोली

काठमाण्डौ, ४ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सरकारी व्यवस्था नभई जनव्यवस्था भएको बताएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस सरकारी ढंगले नभई जनवादी ढंगले मनाउने समेत बताए । उनले गणतन्त्र दिवसलाई जनस्तरको बनाउन निर्देशन पनि दिए । गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन भएको भन्दै उनले यसलाई औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले राजतन्त्रलाई भगवानसंग तुलना गरिने गरेको भन्दै धर्मलाई राजतन्त्रसंग जोडिनु पाखण्डपन मात्र भएको टिप्पणी गरे । उनले राजतन्त्र २०५८ सालमा नै समाप्त भएको भन्दै तत्कालीन सरकारसंग घोषणा गर्ने आँट नभएकाले नयाँ राजा खोजिएको तर्क गरे ।

बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रूपमा मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका विशेष सर्वसाधारण समेतको उपस्थितिमा कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै जेष्ट १६ गते साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

shares