Breaking News

दाईजो विरुद्ध अभियानको रूपमा ‘मिस सिरहा’को तयारी

जागेश्वर यादव/सिरहा, ४ जेष्ठ । समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले ‘मिस सिरहा’ प्रतियोगिताको तयारी भइरहेको छ ।

केएसआर प्रोडक्सन प्रालिको आयोजनामा हुन गइरहेको सो प्रतियोगितामा सिरहाका चार दर्जन युवतीहरू सहभागी हुने बताइएको छ । मिस सिरहाको तयारीमा लागेका केएसआरका निर्देशक सुजित रुचालले पत्रकार सम्मेलन गरी सो प्रतियोगिताबारे जानकारी गराए । कार्यक्रममा आयोजकपक्षका रुचालले ‘ज्यान पनि दिने पैसा (दाईजो) पनि दिनुपर्ने’ प्रथालाई हटाउन तथा जागरण गर्न यो प्रतियोगिता सार्थक हुनेछ बताए ।

प्रतियोगितामा १८ देखि २५ वर्षकी युवतीहरू सहभागी हुन पाउने छन् । जेठ ११ गते मिर्चैया, १२ गते सिरहा, जेठ १३ गते गोलबजार र जेठ १४ गते लहानमा अडिशन राखिने रुचालले जानकारी दिए । छनौट भएका प्रतिभाशाली युवतीहरुलाई १५ दिने विभिन्न विद्यामा तालिम दिने भएको छ । तालिमको लागि काठमाण्डौका टिम आउने भएको छ भने स्थानीय प्रशिक्षकहरूबाट समेत कार्यक्रम गराउने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

तालिमको क्रममा छनौट भएका युवतीहरूलाई प्रदेश २ को धार्मिक पर्यटकीय स्थलमा पठाउने कार्यक्रम रहेको छ । यस प्रतियोगिताले समाजको विकृति विरुद्ध आवाज उठाउने क्षमताको विकास हुने आयोजकपक्षको दावी छ । प्रतियोगितामा प्रथम विजेतालाई ५० हजार, दोस्रो विजेतालाई ३० हजार र तेस्रो हुने विजेतालाई २० हजार उपलब्ध गराउंने भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले मिस टाइलेन्टको रूपमा यो प्रतियोगितालाई लैजान जोड दिए । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि आवेदन दिएका सोनु लोहनी, सोनाली यादव र मोनिका खनालको विशेष उपस्थिति थियो । यो कार्यक्रम संचालन गर्न ३१ लाखको बजेट सार्वजनिक गरिएको छ ।

shares