Breaking News

पारस खड्का यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित

काठमाण्डौ, ३ जेष्ठ । नेपाली क्रिकेटका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड २०७४’मा उनी उत्कृष्ट घोषित भएका हुन् । वर्षको उत्कृष्ट खेलाडी पारससँगै सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए ।

त्यस्तै युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए । युवातर्फ सन्दीप लामिछानेसँगै क्रिकेटकै दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए ।

यसैगरी उत्कृष्ट प्रशिक्षकमा क्रिकेटकै जगत टमाटा घोषित भए । उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका थिए ।

यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन घोषित भएकी छन् । उक्त मनोनयनमा शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ थिए ।

त्यस्तै पारा एथ्लिटतर्फ हृविलचियरमा बास्केटबल र क्रिकेटका कप्तान हिमाल अर्यालले अवार्ड हात पारे । यस्तै पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका नेपाल नम्बर १ स्यान्टु श्रेष्ठले जित्न सफल भएका छन् । त्यस्तै स्पेशल अवार्ड क्रिकेट खेलाडी करण केसी र लाइफटाइम एचिभमेन्ट अवार्ड फुटवल खेलाडी अशोक केसीलाई प्रदान गरिएको छ ।

shares