Breaking News

यस वर्ष मुगुका सबै विद्यालयमा समयमै पाठयपुस्तक

सुवास चन्द्र मल्ल/मुगु, २ जेष्ठ । हिमाली जिल्ला मुगुका विद्यालयमा यस वर्ष भने समयमै पाठ्यपुस्तक पुगेको छ ।

शैक्षिक सत्र सुरु भएलगत्तै भर्ना भएसँगै विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुगेको छ । जिल्लाका १ सय ३६ विद्यालयमा पुस्तक वितरण भई सकेको जयलक्ष्मी पुस्तक पसल एण्ड स्टस्नरी सेन्टरका प्रोपराईटर लक्ष्मी भाम बताउँछन् ।

वर्षेनी किताबको अभाव हुने मुगुमा यस वर्ष शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा किताब पुगेपछि सोरु र खत्याड गाउँपालिका एवं छायाँनाथ रारा नगरपालिकाका विद्यालयहरूमा समयमै कक्षा संचालन भएका छन् भने मुगुकै कार्मारोगं गाउँपालिकाका विद्यालय भने यार्चागुम्बा सिजन भएकोले छिटपुट रूपमा खुलेका छन् ।

“गत वर्ष पुराना किताब पढेर वार्षिक परीक्षा दिएर पास भइयो, यो वर्ष सबै नयाँ किताब पाएपछि खुसीले कक्षा लिने गरेको छु,” भवानी मावि पुरुमुरुकी कक्षा १० का छात्रा सम्जना रोकाया बताउँछिन् ।

जिल्लाका छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकामा सडक यातायात पुगेपछि यस वर्ष किताब ढुवानी समयमै भएको पुस्तक बिक्रेता बताउँछन् । किताब समयमै जिल्लाका साथै विद्यालयमा पुगेपछि प्रत्येक स्थानीय निकायले विद्यालयको खातामा पाठ्यपुस्तकको रकम हाली पाठपुस्तकको रकम समयमै विनियोजन भएको छ ।

वर्षेनी पुस्तक नपुगेको गुनासो भई रहेको बेला यस वर्ष पुस्तक विद्यार्थीको हातमा पुगेपछि साँच्चै जिल्लामा गुणस्तरीय शिक्षा र निरक्षरता उन्मूलन हुनेमा स्थानीय अभिभावक आशावादी भएका छन् ।

shares