राजपा फुट्यो, अशोक यादवको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाण्डौ, ७ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पहिलो स्थापना दिवस मनाइरहँदा पार्टीभित्रकै केही नेताहरूले अर्को पार्टी स्थापनाको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले राजपा नेपालबाट अलग्गिंदै राजपा लोकतान्त्रीक पार्टी गठन गरिएको घोषणा गरेका हुन् । पार्टी उपाध्यक्ष अशोक यादवको नेतृत्वमा महासचिव कदम रसुल, सचिव रितेश सिंहलगायतका दोस्रो तहका नेताहरूले पार्टी परित्याग गर्दै नयाँ पार्टी स्थापना गरेको जनाएका छन् ।

राजपा नेपालका पदाधिकारी र केन्द्रीय सदस्यसहित ३३ जना नेताले पार्टी परित्याग गर्न गर्दै नयाँ पार्टीमा आवद्ध भएको उनीहरूले दाबी गरेका छन् । पत्रकार सम्मेलनमा नवगठित पार्टीका सह संयोजक कदम रसुलले राजपाका शीर्ष नेताहरू जनभावना विपरीत कार्य गरेको आरोप लगाउँदै नातेदारलाई पार्टीमा प्रश्रय दिएको आरोप लगाए । उनले केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजपा नेपाल परित्याग गर्दै नयाँ पार्टी राजपा लोकतान्त्रीक गठन भएको घोषणा गरे ।

त्यस्तै नवगठित पार्टीका संयोजक अशोक यादवले पार्टीपङतीमा तल्लोदेखि माथिल्लो तहसम्म संरचना व्यवस्थित नभएको आरोप लगाए  । उनले ६ पार्टी मिलेर राजपा नेपाल निर्माण गरेपनि पार्टी नभएर मोर्चाको रूपमा मात्र देखिएको बताए ।

अहिले राजपा नेपालको पदाधिकारी र केन्द्रीय सदस्य ११ सय हाराहारीमा छन् । पार्टी परित्याग गरेका यादवले यसअघि ’आम आदमी पार्टी नेपाल’ गठन गरेका थिए । सो पार्टी राजपा नेपालसंग एकीकरणपछि उनी उपाध्यक्षको हैसियतमा थिए । निर्वाचन आयोगको नियम अनुसार पार्टी गठन भएको १ वर्षभित्रै महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार आगामी एकदेखि डेढ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने उक्त पार्टीले जनाएको छ ।