Breaking News

क्रिकेट संघको विशेष साधारण सभा हुने

काठमाण्डौ, ४ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा यही बिहिबार र शुक्रबार काठमाडौंमा हुने भएको छ ।

क्यानले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी वैशाख पहिलो साता विशेष साधारणसभा गर्ने जानकारी दिएको हो । विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गर्नेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनमा निलम्बित क्यानले विधान अनुमोदन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटले निकास पाउँछ भने आफूहरू जुनसुकै हद पार गर्न तयार रहेको बताए । आईसीसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेषसाधारण सभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ ।

क्यानको विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । मनिटरिङ कमिटीमा आइसीसीको ३, क्यानको १ र राष्ट्ररिय खेलकुद परिषदको १ जना सदस्य रहने महासचिव प्याकुरेलले जानकारी दिए ।

यसअघि २०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतका पक्षले क्यानको अधिवेशन गरेको थियो । तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा लिखित उजुरी दिएको थियो ।

क्यान विवादले उग्ररुप लिंदै गर्दा आईसीसीले २०७३ बैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाएको थियो । जुन प्रतिबन्ध अहिलेसम्म निरन्तर रहंदा क्यान निष्कृय हुन बाध्य छ ।

shares