सूचना प्रविधि ऐन ल्याउने सरकारको अन्तिम तयारी

काठमाण्डौ, ४ बैशाख । सरकारले सूचना प्रविधि ऐन ल्याउने अन्तिम तयारी गरेको छ ।

सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सुझाव संकलन कार्यक्रम गरेको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको जानकारी दिए ।

राज्यमन्त्री बास्कोटाले सूचना प्रविधि व्यवसायलाई प्रस्तावित ऐनले थप बलियो बनाउन मद्दत गर्ने बताए । राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिको नाममा राष्ट्रिय सुरक्षा र व्यक्तिगत अधिकारमाथि आँच आउनेगरी व्यवसाय गर्न कसैलाई छुट नभएको स्पष्ट पारे ।

प्रस्तावित ऐनमा हालको विद्युतीय कारोवार ऐनमा रहेको विद्युतीय तथा डिजिटल हस्ताक्षरसम्बन्धी प्रावधानलाई समयानुसार अद्यावधिक गरिएको, विद्युतीय शासन, सूचना सुरक्षा, साइवर सुरक्षासम्बन्धी प्रावधान राखिएको छ ।

विद्युतीय प्रणालीमा रहेको व्यक्ति तथा संस्थाको पहिचान चोरी गरेमा, साइवर आतंक गरेमा, अनुमति नलिई डाटा केन्द्र-क्लाउड सञ्चालन गरेमा सँजाय गर्न सकिनेसमेत ऐनको मस्यौदामा उल्लेख छ ।