काठमाडौंको माईतिघरमा लगाइएको निषेधाज्ञा फिर्ता लिन नेविसंघको माग

काठमाण्डौ, ४ बैशाख । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको माईतिघरमा लगाइएको निषेधाज्ञा फिर्ता लिन माग गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाउँदै नेविसंघले नागरिकको विरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै प्रशासन कार्यालयले काठमाडौंको विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको हो ।

यसअघि प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको चौर, स्वयम्भूको भुइँखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण मैदान, लैनचौरस्थित खुला स्थान र सिफलस्थित चौरमा मात्र विरोध र प्रदर्शन गर्न पाइने जनाएको थियो ।

प्रशासनको उक्त आदेशले संविधानमा व्यवस्था गरेको अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रताका विरुद्ध रहेको जनाएको छ । ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले निषेधाज्ञाको निर्णय फिर्ता नहुने स्पष्ट पारे । यद्दपी उनले माईतिघरका विषयमा भने छलफल चलाइने जनाए ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आफूहरूको माग पुरा नभए वैशाख १६ गतेदेखि नै कडा आन्दोलन गर्ने भन्दै आन्दोलनबाट हुने परिणामको जिम्मेवार सरकार हुने चेतावनी दिए ।

नेविसंघले विद्यार्थी भर्नाका समयमा निजी विद्यालयले चर्को शुल्क लिने गरेको भन्दै यसको नियमन गर्न पनि माग गरेको छ ।