लामो समयपछि तनहुँमा नयाँ प्रजिअ

दमौली, ४ बैशाख । पद रिक्त भएको ९५ दिनपछि तनहुँले नयाँ प्रमुख जिल्ला अधिकारी पाएको छ ।

गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीका रूपमा भरतकुमार शर्माले  सोमबारदेखि कार्यभार सम्हालेका छन् । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौं गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन भएको हो ।

प्रजिअ नहुँदा जिल्ला प्रशासन कार्यालयले हेर्ने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित भएको थियो । प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताए । -रासस