चीन भ्रमणको क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे छलफल हुँदैन: परराष्ट्र मन्त्री

काठमाण्डौ, ३ बैशाख । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने स्पष्ट पारेका छन् ।

५ दिने चीन भ्रमणमा जानुअघि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बुढिगण्डकीलगायत पूर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् । चीन भ्रमणका क्रममा चीनसँग यसअघि भएका सहमति, सम्झौता र सहयोगका बारेमा बृहद छलफल गर्ने उनले जानकारी दिए ।

मन्त्री ज्ञवालीले तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा आफ्नो भ्रमण केन्द्रीत रहने भन्दै नाका खुलाउने विषयमा कसरी छिटो निश्कर्षमा पुर्याउन सकिन्छ भन्नेमा भ्रमण केन्द्रीत रहने बताए । त्यस्तै भ्रमणका बेला नेपालमा भएको तीनै तहको चुनावबारे चिनियाँ पक्षलाई जानकारी गराउने तयारी गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले २०१८ उच्चस्तरीय भ्रमणको वर्षको रूपमा रहने भन्दै नेपालका प्रधानमन्त्री चीन जाने र चिनियाँ उच्चपदाधिकारीहरू यो वर्ष नेपाल आउने दाबीसमेत गर्दै नेपालले दुई छिमेकी देशबीच पन्चशीलकै आधारमा सम्बन्ध विस्तार गर्ने जिकिर गरे ।

उनले भ्रमणका क्रममा सम्बन्ध सुदृढ पार्ने तथा सडक रेल, ट्रान्समिसन लाइनलगायतका विषय पनि छलफलका विषय बन्ने जानकारी दिए । मन्त्री ज्ञवाली २१ अप्रिलमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।