युवतीको हत्या गर्ने व्यक्ति पक्राउ

काठमाण्डौ, ३ बैशाख । काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भई हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । आइतबार राति करिब १० बजेतिर युवतीको हत्या गरेर हिँडेका तामाङलाई सोमबार बिहान साढे सात बजे पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका तामाङ र बिक दुबै ज्याला मजदुरी गर्ने हुन् । तामाङ मिस्त्रि हुन् भने विक लेबरको रूपमा काम गर्दै आएकी थिइन् । स्थानीयकै सूचनाका आधारमा धापासी कृष्ण मन्दिर आसपासमा प्रल्हाद केसीको घरमा डेरा गरेर बस्ने तामाङलाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले अभियुक्तको कोठाबाट रगत लतपतिएको कपडा र रगत लागेको ढुङ्गा पनि फेला पारेको छ । मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।