अोली-दाहालबीचको भेट सकियो, भोलि एकता संयोजन समितिको बैठक बस्ने

काठमाण्डौ, ३ बैशाख । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ ।

पार्टी एकताको विवादित विषयमा सहमती जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब साढे २ घण्टा चलेपछि सकिएको हो । बैठकमा वैशाख ९ गते गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा र एकताका लागि सहमति जुट्न बाँकी रहेका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकले भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्ष निकालेको माओवादी अध्यक्ष दाहालको सचिवलायले बताएको छ । दुवै नेताको सहमती अनुसार भोली बिहान दुवै दलको एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्ने भएको हो ।

जनयुद्धलाई स्वीकार गर्ने विषय र एकीकृत पार्टीको सांगठनिक आधारमा सहमती हुन नसक्दा पार्टी एकताको औपचारिक घोषणाको म्याद लम्बिंदै गएको छ । माओवादीले एकता गर्दा बराबरी हैसियत मागेको छ भने एमालेले चुनावी नतिजाका आधारमा एकता गर्न सकिने अडान लिंदै आएको छ ।