गर्मी बढेसँगै खानेपानीको चरम अभाव भोग्दै स्थानीयवासी

महोत्तरी, ३ बैशाख । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको चरम अभाव देखिएको छ ।

अत्यधिक गर्मी बढेसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताए ।

ढुंगा र चट्टानयुक्त भौगोलिक भएको ती ठाउँमा हिउँदमै पानीको सतह घटेर धेरै तल गइसकेको र २०० भन्दा बढी इनार सुकिसकेका छन्। बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताए। सयौँ इनार एकैचोटि सुक्दा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका काशी महतोले बताए ।

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँमा पानीको हाहाकार भएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाउँ र वरपरका नदी, खोलामा धाउनु परेको लक्ष्मीनियाका शंकर महतोले बताए । पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेको छ भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा दुई-तीन पटक मात्रै गर्ने गरेको खयरमाराका देवेन्द्र यादवले बताए ।

विभिन्न सामाजिक संघसंस्था र तत्कालीन गाविसकै खर्चमै पनि धेरै पहिले ती गाउँमा जडान गरिएका दर्जनौ‌ं धारा, स्यालो ट्युबवेल र डिप बोर्डिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयवासीलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको शहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाउँका नदीनाला र इनारमा जानुपर्ने बाध्यता रहेको किसाननगरका प्रेमकुमार महतोले बताए।

यसरी त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएपछि स्थानीयवासी चिन्तित भएका छन्। उनीहरुले सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन मागसमेत गरेका छन् । -रासस