Breaking News

एक हप्ताभित्रै मतपरिणाम सार्वजनिक हुन्छः प्रमुख निर्वाचन आयुक्त यादव

काठमाण्डौ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा बोल्दै यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आइसक्ने दाबी गरेका हुन् । उनले भने, ‘मतगणना भइरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण भनेको मतपत्र ठूलो भएर हो, अब हामी जनशक्ति पनि बढाउँछौं ।’ उनका अनुसार काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिने छन् । काठमामाडौमा चाहिँ मतगणना डेस्क ११ सम्म पुर्‍याउने उनले जानकारी दिए ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएकै साँझदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै अहिलेसम्म २५ जिल्लाको मतगणना सकिएको यादवले जानकारी दिए । त्यस्तै मतगणना द्रूत गतिमा अघि बढाउनकोे लागि निर्वाचन आयोगले निर्देशन समेत दिइसकेको उनले बताए ।

निर्वाचन आयोगले मतगणना कार्यमा ढिलाई गरिरहेको भन्दै आवाज उठिरहेका बेला उनले आक्रोशित हुँदै भने, ‘२० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले किन एक हप्ता धैर्य गर्न नसकेका होलान् ?’

५ देखि ७ प्रतिशतसम्म मत बदर हुनसक्ने जानकारी दिँदै यादवले दोस्रो चरणको निर्वाचनको तयारी पनि भइरहेको बताए ।

shares