न्यायालय सिध्याउन खाेज्ने माफियाहरुकाे नाम सार्वजनिक गर्छु : गोपाल पराजुली

काठमाण्डौ, ४ चैत्र । निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालय सिध्याउन खाेज्ने माफियाहरुकाे नाम सार्वजनिक गर्ने बताएका छन ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पराजुलीले न्यायालयलाई सिध्याउन खोज्ने माफियाहरुकाे नाम छिट्टै सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा उनले भने, ‘म सुरक्षित छु भन्ने महसूस गरेको  अनुभूति भएपछि मात्र म ती माफियाहरूको नाम सार्वजनिक गर्छु । म अहिले सुरक्षित छु जस्तो लाग्दैन । त्यसैले एक वर्षभित्र अात्मवृतान्त लेखेर सबैको नाम सार्वजनिक गर्नेछु ।’

पराजुलीको भर्खरै अाएको राजीनामाको प्रसंगलार्इ कोट्याउँदै प्रस्तोता ऋषि धमलाले गरेको प्रश्नको जवाफमा उनले अाफूले कसैको दबावमा नभर्इ स्वेच्छाले राजीनामा दिएको बताए । संस्कृतमा प्रचलित उक्तिको चर्चा गर्दै उनले भने, “जुन घरमा सर्प बस्न पल्केको छ, जुन घरमा अनुशासन छैन, साथी षड्यन्त्रकारी छन् र सहयोगी मान्छे असहयोगी बनिरहेछन्, त्यो घरमा बसिरहनु हुँदैन भन्ने मान्यताले राजीनामा दिएको हुँ ।”

पराजुलीले नकारात्मक सोच भएका व्यक्तिहरुले भीड जम्मा पारेर न्यायालय माथि दबाव सिर्जना गर्न खाेज्नुले भविष्यमा गंभीर संकट पैदा हुने बताए । उनले भने ‘सञ्चारमाध्यमहरुमा पनि नकारात्मक सोच भएका मानिसहरु छन उनीहरु अाफ्ना गलत कामलाई संस्थागत गर्न न्यायलय नै कब्जा गर्न खोज्दैछन’

‘डा. गोविन्द केसीलार्इ पक्राउ गर्ने अादेशबाट तपाइँको दूर्दिन सुरु भएको हो?’ भनेर सोधिएको प्रश्नमा पराजुलीले कानूनको धज्जी उडाउनेहरूको विरोधमा अाफ्नो फैसला भएको बताउँदै न्यायको लागि मर्नै परेपनि पछि नहट्ने दृढ संकल्प लिएर अाफुले कार्यसम्पादन गरेकाे बताए । उनले वास्तविक जीवनमा कुनै महत्व नराख्ने गोविन्द केसी ‘फिल्मी शैलीको मात्र हिरो’ भएको टिप्पणी गरे ।

उनले भने, ‘जनताको भीड र मिडियाको समाचारका अाधारमा न्यायमूर्तिले फैसला गर्दैन । न्यायमूर्तिले त कानून, नियम र संविधानअनुसार काम गर्ने हो ।’ उनले २७ वर्षे सेवाकालमा कुनै गलत निर्णय नगरेको र अाफूले गरेका निर्णयहरू कहिल्यै नउल्टेको दाबी गरे ।

‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशी शर्मालार्इ पुनर्बहाली गर्ने निर्णय सही थियो त?’ भनेर सोधिएको प्रश्नमा पराजुलीले ७ पटक फाँसी दिएर पुनर्जन्म भएपनि त्यही निर्णय गर्ने र सो फैसलाप्रति अाफू खुसी रहेको बताए ।

एनसेल, गोर्खा ब्रुअरी, क्यासिनोलगायतका विभिन्न  व्यवसायिक कम्पनीहरुलाई ६२ अर्ब कर छुटकाे फैसला गरेकाे भन्ने कुरा निराधार रहेकाे पराजुलीकाे भनाई छ ।

अकुत सम्पती जोडेकाे भन्ने अारोप अस्वीकार गर्दै पराजुलीले अाफुसंग पारदर्शी सम्पतीमात्र रहेकाे दाबी गरे ।  काठमाण्डौमा २०४८ सालमा किनेको २ रोपनी ५ अाना घर घडेरी र तरार्इमा ३५ रोपनी जमिन र केही बैक ब्यालेन्स बाहेक अाफुस‌ंग अरु कुनै गलत ढंगले अार्जन गरेकाे सम्पती नभएकाे स्पष्ट पारे ।

उनले अाफूलार्इ माफियाले बदनाम गर्न मात्र खोजेको भन्दै सम्पत्ति शुद्धिकरणले अाफ्नो सम्पत्ति जाँच गरेपनि केही फरक नपर्ने बताए । सम्पूर्ण अन्तरवार्ता अाज राती ८ बजे हिमालय टेलिभिजनमा हेर्न सक्नु हुनेछ ।