Breaking News

च्याम्पियन्स लिग अन्तर्गत आज रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै

काठमाण्डौ, २७ वैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच खेल हुँदैछ ।

एथ्लेटिकोको घरेलु मैदान भिन्सेन्ट काल्डरिनमा नेपाली समयअनुसार राती साढे बाह्र बजे यी दुइ टोली भिड्न लागेका हुन् । सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिकोलाई ३–० गोल अन्तरले पराजित गरेको रियल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने सुरमा छ । सेमिफाइनलको पहिलो लेगमा ह्याट्रिक गरेका क्रिष्टियानो रोनाल्डो आजको खेलका लागि पूर्णरुपमा फिट रहेकाले पनि रियल बढी आत्मविश्वासी देखिएको छ । यद्दपि अर्का स्ट्राइकर ग्यारेथ बेलको अभाव भने रियललाई खड्किने छ । तीघ्राको चोटका कारण बेलले आजको खेल गुमाउने छन् ।

यता, आफ्ना खेलाडीमाथि पूर्ण विश्वास रहेको र खेलको अन्तिम समय सम्म पनि हार नमान्ने एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोन्सले बताएका छन् । रियल र एथ्लेटिकोबीच भएका पछिल्ला पाँच खेलमा रियलले दुई खेलमा जित हात पारेको छ भने, एथ्लेटिकोले एक खेलमा बाजी मारेको छ । बाँकी दुई खेल भने एक एक गोलको बराबरीमा सकिएको थियो ।

एथ्लेटिकोले खेलेका पछिल्ला पाँच खेल मध्ये तीनमा जित र दुईमा हार व्यहोरेको थियो । यता, रियलको पछिल्ला पाँच खेलमा चारमा जीत र एकमा हारको सामना गरेको छ । यसैगरी गए राति भएको पहिलो सेमिफाइनल खेलमा युभेन्ट्सले मोनाकोलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।

shares