स्थानीय निर्वाचन लक्षित गर्दैै माओवादी केन्द्रद्वारा ३० बुँदे घोषणापत्र सार्वजनिक

काठमाण्डौ, २२ वैशाख । प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन केन्द्रीत ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता पम्फा भुषालले पार्टीको घोषणा पत्र सार्वजनिक गरेकी हुन् । १६ पृष्ठ लामो प्रतिबद्धतापत्रमा माओवादीले संविधानसभा र संघीयता पार्टीको योजना भएका कारण मतदाताले आफ्नो दललाई मतदान गर्ने दाबी गरेको छ ।

माओवादीले प्रतिबद्धता पत्रमा द्वन्द्वकालीन मुद्दा मेलमिलापद्वारा समाधान गर्ने उल्लेख गरेको छ । माओवादीले सीमा अतिक्रमण र स्वाधीनताको रक्षाका लागि भारतसँग खुला सीमा क्षेत्रसँग जोडिएका नगर वा गाउँपालिकाहरु अतिक्रमण हुन नदिने नीति अवलम्बन गरेकाे प्रवक्ता भूषालले जानकारी दिइन् ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा माओवादी सत्तासाझेदार दलसँगको तालमेललाई प्राथमिकतामा राखेको भुषालले बताइन् । त्यस्तै पार्टीले सबै तहमा समानुपातिक महिला प्रतिनिधिको व्यवस्था गरेको भुषालको दाबी छ ।

सीमावर्ती क्षेत्रका स्थानीय जनतालाई सीमा सुरक्षाको जनआधारको रुपमा विकास गर्न जोड दिइने प्रवक्ता भूषालले जानकारी दिइन् । कांग्रेस र एमाले लगायतका दलले भने उम्मेद्वारी दर्ता अघि नै पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

shares