केसीसँग वार्ताका लागि सरकारी टोली गठन , आज संसद्ले चिकित्सा विधेयक पारित गर्ने

काठमाण्डाै, २६ असाेज । गत १९ असोजदेखि १३औं पटकको अनशन बसेका त्रिविवि शिक्षण अस्पतालका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय टोली गठन गरेको छ ।

प्रधानमन्त्री कार्यालय सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा गठित टोलीमा स्वास्थ्य मन्त्रालयका सचिव डा.किरण रेग्मी र शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल छन् । केसीका तर्फबाट वार्ताटोलीमा डा.वाइपी सिंह, डा.अभिशेष सिंह र डा.जीवन क्षत्री छन् ।

बुधबार बसेको वार्तामा सहमतिमा टुंगिएका कारण बिहीबार बस्ने व्यवस्थापिका संसद् बैठकले माथेमा आयोगको प्रतिवेदनको मर्म र केसीको सुझावअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने भएको छ ।

यसैबीच सात दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था बुझ्न र उनले राखेको मागबारे छलफल गर्न पूर्वस्वास्थ्यमन्त्री गगन थापा बुधबार शिक्षण अस्पताल पुगेका छन् । ११औं पटकको अनशन २३ दिन बसेर तोडेका केसीको १३औं पटकको अनशनको सात दिनमै स्वास्थ्य स्थिति बिग्रँदो अवस्थामा छ ।

केसीको सुझाव र माथेमा आयोगको प्रतिवेदनको आधारमा राष्ट्रिय चिकित्सा विधेयक संसद्बाट पारित गर्नेबारे केसी र पूर्वमन्त्री थापाबीच छलफलसमेत भएको छ । थापा र अनशनरत केसीबीच भएको वार्ताअनुसार संसद्मा रहेको विधेयक पारित भएलगत्तै अनशन तोडिनेछ ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबारको संसद्मा राष्ट्रिय चिकित्सा विधयेक पारितका लागि प्रस्तुत गर्ने कार्यक्रम रहे पनि पेश हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ र केसीबीच यसबारे मंगलबार छलफल भएअनुरूप बुधबार संसद्मा विधेयक प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।

तिहारअघि नै व्यवस्थापिका संसद् विघटन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण ढिलोमा शुक्रबारसम्म कुनै पनि हालतमा विधेयक पारित गर्नुपर्ने हुन्छ । याे खबर राजधानी दैनिकमा छ ।