मंसिर १० गतेको निर्वाचन सर्न सक्छः कानूनमन्त्री

काठमाडौं, २५ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका हुन् ।

मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन् । केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे ।

उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन । निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो।’

उनले ५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिए । मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिएका छन्।