October 20, 2017

सर्लाहीमा सुन व्यापारीको गोली हानि हत्या

सर्लाही, २५ असाेज । सर्लाहीकाे हरिपुर नगरपालिकास्थित पिडारीमा गोली प्रहार गरी सुन व्यापारीको हत्या गरिएको छ ।

मंगलबार साँझ ७ बजे पिडारीमा रहेको पसल बन्द गरेर घर फर्किँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।

मृतकका बुवा नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किँदै गर्दा बाटो ढुकेर बसेका तीन\चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुट्न खोजेका थिए।

प्रतिकार गर्न खोज्दा लुटेराले उनको च्यापुमुनि गोली हानेको प्रहरीले जनाएको छ । गम्भीर घाइते साहलाई जिल्ला अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

लुटेराले सुनिललाई गोली हानी  झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका थिए। फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए ।