व्यवसायीलाई साम्य पार्न यसरी ढाँटे गृहमन्त्रीले

काठमाण्डौ, २५ असाेज ।  गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दावी गरेका थिए ।

उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए । अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए । घटनाको करिब एक घण्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउण्ड गोलीसहित तीन जना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो ।

छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दाबी प्रहरीको थियो । गृहमन्त्रीको दाबीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्त स्रोतका काभ्रेका ती तीनजनालाई गौचनको हत्याको आधा घण्टाअघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका थियो ।

उनीहरूलाई महाशाखाबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो । घाइते गौचनको गोली लागेर मृत्यु भएपछि निर्माण व्यवसायी आक्रोशित भएका थिए । उनीहरूले घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म गौचनको शवसमेत नउठाउने चेतावनी दिएपछि तीनजना पक्राउको समय अदलबदल गर्दै हतियारसहित पक्राउ परेको सूचना सार्वजनिक भएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले महाशाखा र परिसरको टोलीले सोमबार हतियारसहित तीनजना पक्राउको पुष्टि गरे पनि यकिन समय बताउन चाहेनन् । पक्राउ समयबारे जिज्ञासा राख्दा उनले भने, ‘गौचन हत्याको आसपास नै हो । समय यकिन भएन ।’  याे खबर नागरिक दैनिकमा छ ।