October 20, 2017

अब कीर्तिपुरको आकाशमा दिनहुँ उड्नेछ बेलुन

काठमाण्डौ, २५ असाेज । आगामी फागुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ ।

त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ । हरेक बिहान ५:४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ ।

बेलुनले त्यहाँको तापक्रम, वायुको गति तथा दिशा, बादलको अवस्था, सापेक्षिक आद्रतालगायतको अवस्थाबारे जमिन/सतहमा रहेको तथ्याङ्क संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउने छ । ती तथ्याङ्कलाई प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् र पछि विश्लेषण गर्नेछन् ।

‘आधा घण्टामै वायुमण्डलको माथिल्लो तहसम्म पुगेर बेलुनमा जोडिएको सेन्सरले तथ्याङ्क पठाउने छ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले मंगलबार भने, ‘हरेक १०/१० सेकेण्डमा बेलुनले दिने तथ्याङ्कले उच्च वायुमण्डलको अवस्था बुझ्न सकिनेछ र मौसम पूर्वानुमान गर्न हामीलाई सहयोग पुग्नेछ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।