सरकारबाट समर्थन फिर्ता लिने कि नलिनेमा राप्रपा अझै अन्योलमा

काठमाण्डौ, १८ वैशाख । सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र सरकारबाट समर्थन फिर्ता लिने विषयमा चर्को बहस भएको छ ।

सोमबार बसेको केन्द्रीय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने बिषयमा चर्को बहस भएपछि साँझ फेरी बस्ने गरी बैठक स्थगित भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेपछि राप्रपाले आकस्मिक रुपमा सोमबार बिहान केन्द्रीय समिति बैठक बोलाएको थियो ।

बैठकले वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्ने बताइए पनि त्यस्तो कुनै निर्णय भएन । पार्टी अध्यक्ष कमल थापाले महाअभियोग र यसले पार्न सक्ने असरका बिषयमा छलफल भएको जानकारी दिए ।

केन्द्रीय सदस्यहरुको बोल्ने क्रम नसकिएको भन्दै बैठक आज ५ बजेसम्मका लागि स्थगित गरिएको राप्रपाले जनाएको छ । सरकारबाट समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा ५ बजेको बैठकपछि मात्रै निर्णय आउने राप्रपाका नेताहरुको भनाई छ ।

shares