मासुले मूल्य नपाउँदा कुखुरा किसान पेसाबाटै पलायन (भिडियोसहित)

२९ भदौ, २०७७, बुटवल । कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर छ । तर, समर्थन मूल्य सरकारले तोक्दैन। त्यसैले संकटका बेला पोल्ट्री व्यवसायीले सधैँ क्षति व्यहोर्छन् । मासु विक्री न्यून भएको भन्दै व्यवसायीले सस्तोमा कुखुरा खरिद गर्ने गर्छन् । अझै त्यसैमाथि विचौलिया हावी हुँदा किसान सधै मर्कामा छन्।
रुपन्देहीको ओमसतिया–५, पट्खौलीस्थित सम्राट पोल्ट्री फर्मका सञ्चालक सुजित चौधरीले गत बैशाखमा हुर्काएर विक्रीका लागि ठिक्क पारेका ६ हजार कुखुरा फर्ममै मरे । भदौमा मात्र ४ हजार बोइलर कुखुरा कौडीका भाउमा बेच्नु पर्यो ।
कोरोना भाइरसको महामारीले बजारमा मासुको खपत नभएको भन्दै खरिदकर्ताले ११० रुपैयाँ प्रतिकिलो भन्दा बढी तिर्न नसक्ने भनेपछि बाध्य भएर सोही मूल्यमै विक्री गर्नु परेको चौधरीको गुनासो छ । यसले ब्यवासाय नै बन्द गर्नू पर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।
सुजितको यो पीडा देशभरका कुखुरापालक किसानको साझा समस्या हो । सामान्यतः बोइलर कुखुरा ४५ दिन पालेपछि विक्री गर्ने गरिन्छ । एउटा कुखुरा हुर्काउन ३ सयभन्दा बढी रुपैयाँ खर्च लाग्छ। ४५ दिन पाल्दा एउटा कुखुरा दुई तीन किलोको हुन्छ ।
प्रतिकिलो १६० रुपैयाँसम्म विक्री गर्न पाएमा मात्र किसानको लागत उठ्छ। प्रतिकिलो १६० भन्दामाथि पार्न सकेमात्रै मुनाफा हुने हो। महामारीको मौकामा बिचौलिया र मासु व्यवसायी हावी हुँदा कुखुरापालक किसान विस्थापित हुने अवस्थामा पुगेका छन ।
गाउँ–गाउँ पुग्ने विचौलियाले सस्तोमा कुखुरा किनेर खरिद गरी धेरै मुनाफा राखेर बजारमा ल्याएर विक्री गर्छन्। यसले मासुको मूल्य घट्दैन, किसानले थोरै पैसा पाए पनि उपभोक्ताले भने महँगोमा नै मासु किन्नु परेको छ ।
नेपालमा मासुको मूल्य महंगो हुँदा तिनै विचौलिया र तस्करले भारतीय बजारबाट नेपालमा कुखुरा भित्र्याउँछन् । सरकारले समर्थन मूल्य तोक्न सक्ने भए पनि भौगोलिक क्षेत्रअनुसार उत्पादन लागत फरक पर्ने भएकाले केही समस्या भएको बिज्ञहरु बताउँछन् ।
मासु खपत कम हुँदा कुखुरापालक मर्कामा छन् । अर्कातर्फ विचौलियाले किसानलाई मूल्य नदिने र बजारमा महंगोमा बेच्ने गरेका छन । सरकारले राहतको प्याकेज नल्याउने हो भने कुखुरापालक किसान अब व्यवसायमा नफकर्ने खतरा छ ।
प्रतिक्रिया