आर्थिक

२०८१ सालमा कस्तो रह्यो देशको अर्थतन्त्र

हिमालय टिभी
२०८१ चैत ३० गते १९:५९
२०८१ सालमा कस्तो रह्यो देशको अर्थतन्त्र

काठमाडौं : वर्ष २०८१ मुलुकको अर्थतन्त्रका लागि निराशाजन र संकटपूर्ण रह्यो । मुलुकले २ वटा अर्थमन्त्री पायो । अर्थतन्त्रका तीन वटै नियामक निकायमा प्रमुखमा नयाँ अनुहार आए । तर अर्थतन्त्रमा उत्साह छाउन सकेन । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत रहेपनि शेयर बजारदेखि घरजग्गा कारोबारसम्म, निर्माण क्षेत्र उद्योग र व्यापारसम्म सबै निराशा नै निराशा मात्रै देखियो । मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समेत पर्यो । २०८१ सालमा अर्थतन्त्रमा के-के भए । एक पटक फर्केर हेरौं ।

यो वर्ष मुलुकको बाह्य क्षेत्र इतिहासकै बलियो बन्यो तर आन्तरिक अर्थतन्त्र भने चुनौतीपूर्ण अवस्थामै गुज्रियो ।

चालू खाता बचत, विदेशी बिनिमय सञ्चिती, शोधनान्तर स्थिती इतिहासकै मजबुत अवस्थामा रह्यो । तर अधिक तरलता, कमजोर पूँजीगत खर्च, बढ्दो बेरोजगारी, बढ्दो सार्वजनिक ऋण, घट्दो पूँजी बजार, उद्योगहरुले गरेको उत्पादन कटौतीले गर्दा अर्थतन्त्रमा बहुआयमिक समस्या देखियो ।
२०८१ ले मुलुकले दुई वटा अर्थमन्त्री पायो । आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते वर्षमान पुन बिदा भएपछि विष्णु पौडेलले अर्थतन्त्रको जिम्मेवारी सम्हाल्नु भयो । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल पूरा गरि चैत २४ गते बिदा हुनुभयो । तर नयाँ गभर्नर अझै नियुक्त गर्न सकेको छैन ।
हेरौं अर्थतन्त्रका कुन क्षेत्रमा के भए ?

बैंक तथा वित्तीय क्षेत्र

कर्जा लगानी नहुँदा बैंक तथा वित्तीय संस्थाहरुले वर्षभरि अधिक तरलताको अवस्थाबाट गुज्रनु पर्यो । अहिले पनि ७ खर्ब बढी लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ । बैंकहरुले लिने कर्जाको औसत ब्याजदर यो वर्ष ४ वर्षयताकै न्यून बिन्दु ८.५५ प्रतिशतमा झर्यो । निक्षेपकर्तालाई दिने ब्याजदर त झन ८ वर्षपछिको तल्लो बिन्दुमा औसत ४।६२ प्रतिशत छ । लामो समयदेखि २ प्रतिशत भन्दा तल नै रहेको वाणिज्य बैंकहरुको खराब कर्जा ७ प्रतिशत हाराहारीमा पुग्यो । बैंकको ऋण नतिर्ने ३८ हजार ऋणी यो वर्ष कर्जा सूचना केन्द्रको कालोसूचीमा परे । )

औद्योगिक क्षेत्र

वर्षभरि ठुला उद्योगहरु ४० देखि ५० प्रतिशतको क्षमतामा चले । साना तथा मझौला उद्योेग ३० प्रतिशत बन्द नै भए । बजार माग पनि ३० प्रतिशतले खस्कियो ।

विदेशी लगानी

यो वर्ष विभिन्न देशका लगानीकर्ताहरुले ४२७ वटा परियोजनामा ४४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाए । तर वास्तविक लगानी भने सात अर्ब ४५ करोड रुपैयाँ मात्रै आयो ।)

बढ्दो सार्वजनिक ऋण

यो वर्ष मात्रै सरकारले आन्तरिक र बाह्य गरि २ खर्ब ४२ अर्ब रुपैयाँ ऋण लियो । योसँगै मुलुकको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

निराश शेयर बजार

६६ लाख लगानीकर्ता रहेको शेयर बजारमा पनि खासै उत्साह देखिएन । २०८१ को पहिलो कारोबार दिन २ हजार २५ दशमलव ३० बिन्दुबाट कारोबार सुरु भएकोमा २०८१ मा २ हजार ७ सयको बिन्दुमै रुमलिएको छ । २०८१ असार ३१ गते फेरि पौडेल अर्थमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरे । अर्थमन्त्रीमा विष्णु पौडेलले असार ३१ गते जिम्मेवारी सम्हालेपछि क्रमश बढेको नेप्से साउन ३१ मा ३००० विन्दुमा पुगेको नेप्से त्यसपछि भने घट्दो क्रममा छ ।

कर्मकाण्डी बजेट कार्यान्वयन

बजेट कार्यान्वयनको नौ महिनाको अवधिमा विकास खर्च ३२ प्रतिशतभन्दा कम र समग्र बजेट खर्च ६० प्रतिशतमात्र भएको छ । यो अवधीमा लक्ष्यको ६० प्रतिशतभन्दा कम छ ।

विद्युत क्षेत्रमा उत्साह

उर्जा विकास मार्गभित्र २०८१ कार्यान्वयनमा ल्याइ आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत गर्ने लक्ष्य तय गरियो । जनताको जलविद्युत कार्यक्रमलाई अघि बढाइयो । कात्तिकमा नेपाल–भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत व्यापार सम्झौता गरेर नेपालको विद्युत तेस्रो मुलुक बंगलादेश निर्यातको सुरुवात भयो । यो एक वर्षमा ३ सय ९७ मेगावाट विद्युत राष्ट्रिय प्रशारण ग्रिडमा थपियो । ७ वर्षदेखिको डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बिवाद यो वर्ष पनि हल भएन । यही बिवाद र सरकारलाई असहयोग गरेको आरोपमा सरकारले कार्यकाल ४ महिना बाँकी रहदै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दियो ।

पर्यटनमा नयाँ रेकर्ड

यो वर्ष नेपालमा पर्यटक आगमन चार वर्ष यताकै धेरै आए । ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरे ।

वैदेशिक व्यापार

आर्थिक मन्दीका कारण सुस्त मुलुकको आयात–निर्यात व्यापार पनि लामो समयपछि लयमा फर्कियो । आठ महिनाको अवधीमा १३ खर्ब तीन अर्बवैदेशिक वयापार भयो । कुल वैदेशिक व्यापार १५.२९ ले बढ्न गयो । पोहोरको तुलनामा निर्यात ५७.२० प्रतिशत र आयात ११.२० प्रतिशतले बढ्यो ।)

अध्यादेशले उत्साह

यो वर्ष सरकारले अर्थतन्त्र र व्यवसायीक वातावरण सुधारका लागि भन्दै अध्यादेश मार्फत तीनवटा आर्थिकसम्बन्धी कानूनमा सुधार गर्यो । जसमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अधिवृद्धि सम्बन्धी केही नेपाल कानुनलाई संशोधन गर्ने २०८१, निजीकरण ९पहिलो संशोधन० २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) २०८१ छन् । यी ऐनमा गरिएको सुधारले सुशासन र आर्थिक सुधारले मुलुकको आर्थिक तथा व्यवसायीक वातावरण सुधार हुने भन्दै निजी क्षेत्र निकै उत्साहित भएको छ।

सुनको मूल्यमा रेकर्ड

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दा नेपालमा पनि मूल्य बढ्दा ऐतिहासिक रेकर्ड बनायो । सुन प्रतितोला १ लाख ८० हजार रुपैयाँसम्म कारोबार भयो । तर वर्षको अन्ततिर मूल्य क्रमश घट्दो क्रममा छ ।

कानुन सुधारियो, खर्च गर्ने क्षमता सुध्रिएन । सरकारले कानूनमा सुधार गरेर मुलुकमा लगानीका लागि आह्वान गरेपनि सरकारकै खर्च प्रणाली नसुधारिदा त्यसको असर अर्थतन्त्र अन्य क्षेत्रमा देखियो । व्यवसायीक गतिविधि नबढ्दा राजस्व संकलन कमजोर हुँदा सरकारलाई चालू खर्च धान्ने मूश्किलको अवस्था सृजना भयो । लामो समयदेखि चर्चामा सिमित कन्ट्री रेटिङ पनि यो वर्ष सम्पन्न भयो । बीबी माइनसको रेटिङले सरकार र निजी क्षेत्रमा उत्साह देखियो । सुस्ताएको अर्थतन्त्र सुधारका लागि सरकारले ठूलो रकम खर्च हुने परियोजनामा ध्यान दिन विज्ञहरुले सरकारलाई सुझाए पनि सरकार खुद्रा मसिना काममा व्यस्त देखियो । जसको कारण २०८१ मा मुलुकको अर्थतन्त्र मन्दीमै गुज्रियो । अब २०८२ मा अर्थतन्त्र गतिशिल हुन्छ की मन्दीमै रहन्छ त्यो सरकारको भूमिकामै निर्भर रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *