Main News

यी १० पात्र जो वर्षभर नै चर्चामा रहे

हिमालय टिभी
२०८१ चैत ३० गते १९:४७
यी १० पात्र जो वर्षभर नै चर्चामा रहे

काठमाडौं : विक्रम संवत् २०८१ नेपालका विभिन्न क्षेत्रमा हलचलपूर्ण रह्यो। राजनीतिक वृत्तदेखि खेलकुद, मनोरञ्जन, प्रशासन र सञ्चारजगतमा उल्लेखनीय उतारचढाव आए । कतिपय व्यक्तिहरू उपलब्धिका शिखरमा पुगे, भने कतिपय विवादमा तानिए । प्रस्तुत छ, यो वर्ष चर्चामा रहेका १० व्यक्तिका कथा।

१. ज्ञानेन्द्र शाह : ‘राजसंस्था फर्काउने आवाज’

नाम होस्, बदनाम होस् तर गुमनाम नहोस भन्ने उक्ति पछिल्लो समय कसैलाई लागू हुन्छ भने त्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुन्छ । विभिन्न दिवसमा आउने शाहका शुभकामना सन्देशका नाममा आउने राजनीतिक वक्तव्य त्यसकै उदाहरण हो । शाहले यो वर्ष सार्वजनिक रूपमा दिएका केही बयानले राजनीतिक वृत्त ततायो। काठमाडौं, झापा, मोरङ, कास्की र धनुषाका विभिन्न स्थानमा आयोजित निजी तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै शाहले राजसंस्थाबारे जनताको चासो अझै छ भन्ने भाष्य बनाउन भरमग्दुर प्रयास गर्नुभयो । उहाँकाे भारत दाैड पनि याे वर्षभर लगातार जस्तै रह्याे । फागुन ७ गते प्रजातन्त्र दिवसकाे अवसर पारेर शाहले दिएकाे शुभकामनाका क्रममा जनतालाई गरेकाे आह्वानलाई राजसंस्थाको पुनर्बहालीको संकेतका रूपमा हेरियो। शाहका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ अभियान चलाए, जसले सामाजिक सञ्जाल ततायो। दुई जनाको मृत्यु र सयौं घाइते हुने गरी चैत १५ गते तीनकुनेमा जुन घटना घट्यो त्यसमा शाहकै हात रहेको सरकारले किटान गर्योद । प्रयोग दलहरुले पनि त्यही भने । संविधान र व्यवस्थाको पालना गर्न खबरदारी भयो । समर्थन-विरोधमा समाजलाई विभाजन गर्न शाह सफल देखिनुभयो । कुनै न कुनै रुपमा ज्ञानेन्द्र शाह वर्षैभरी चर्चामा रहनुभयो ।

२. कुलमान घिसिङ : ‘लाइटम्यानको उपाधिदेखि बर्खास्तगीसम्म’

नेपाल सरकारको एउटा कर्मचारी जो वर्षभरी चर्चामा रह्यो भने त्यो एक मात्रै पात्र हो-कुलमान घिसिङ । नेपाललाई लोडसेडिङमुक्त बनाएको जस लिइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विभागीय मन्त्रीसँगको टकराव र सरकारी निर्णय अवज्ञाको आरोपमा बर्खास्तगीमा पर्नुभयो । उद्योगहरुको डेडिकेटेड र ट्रंक लाइन बक्यौतालाई लिएर कुलमानले सरकार र समाजलाई नै दुई भागमा विभाजन गर्ने ताकत देखाउनुभयो । भारतदेखि बंगलादेशसम्म विद्युत व्यापार सम्झौता गरेको श्रेय लिएका कुलमानमाथि सस्तोमा बिजुली बेचेर महँगोमा किनेको आरोप छ । विद्युत प्राधिकरणलाई घाटाबाट नाफामा लगेको वासलात तयार पारेका घिसिङलाई विरोधीहरु उठ्न बाँकी रकमलाई समेत देखाएको आरोप लगाउँछन ।
सामाजिक सञ्जाल र मिडिया परिचालनमा माहिर कुलमानका नाममा पछिल्लो समय सञ्जालमा #BringBackKulman ट्रेन्ड नै चल्यो । दुई कार्यकाल गरेर ८ वर्ष प्राधिकरणमा विताएका कुलमान यो वर्ष चर्चाको हटकेक हुनुभयो ।

३. रवि लामिछाने : ‘सञ्चारकर्मबाट उदयदेखि सहकारी ठगी प्रकरणमा हिरासतसम्म’

टेलिभिजन प्रस्तोताको क्रेजको जगमा राजनीति थालेर छोटो समयमै उपप्रधानमन्त्री एवं गृहमन्त्रीसम्मको यात्रा तय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यो वर्षभर चर्चाबाहिर कहिल्यै पर्नुभएन । निजी जीवनदेखि राजनीतिक यात्रासम्म आउँदा लामिछाने काण्डैकाण्डमा पर्नुभयो । राहदानी, नागरिकता प्रकरण र सहकारी घोटालामा जोडिएपछि यत्रतत्र रवि नै छाइरहनुभयो । नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछाने यो वर्ष सहकारी प्रकरणले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्याकएको छ । जसको कारण लामिछानेलाई सांसद पदबाट निलम्बन गरिएको छ ।
(पार्टी सभापतिमा फर्किएका लामिछाने सांसद पद निलम्बनबाट उम्किन सभामुखसँग हारगुहार गरिरहनुभएको छ । )

समर्थकहरूका लागि अन्यायमा परेका व्यक्ति लामिछाने आलोचकहरूको नजरमा कञ्चा राजनीतिकर्मीका नाममा दरिनुभएको छ । सहकारी प्रकरणमा विभिन्न जिल्लाबाट मोटो रकम धरौटी माग र तारिख धाउने क्रममले रविलाई चर्चामा राखिरह्यो ।

४. बालेन्द्र शाह : ‘मध्यरातको स्टाटस र काठमाडौंको रूपान्तरण’

र्‍यापर पृष्ठभूमि, सामाजिक सञ्जालको व्यापक प्रयोग र घरदैलोमा पुगेर नागरिकसँगको साक्षात्कार, पुरानादलहरुप्रति मतदाताहरुको असन्तुष्टि बालेन्द्र शाह उर्फ बालेनलाई काठमाडौं महानगरपालिकाको प्रमुख बनाउने आधार हुन् । अनि बालेनलाई चर्चामा राखिरहने पनि सामाजिक सञ्जाल नै हो । सामाजिक सञ्जालमा आउने बालेका ‘मिडनाइट स्टाटस’ ले बेलाबेलामा हलचल मच्चाइरहेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापन, पार्किङ, अनधिकृत संरचना हटाउने कामले बालेनले पर्याप्त चर्चा बटुल्नुभयो । काम गर्ने शैली अरूभन्दा भिन्न रह्यो। कुनैबेला कडा नीति लिने, कुनैबेला जनभावना बुझेर पछाडि हट्ने बालेनको शैलीलाई कतिले सकारात्मक भने, त कतिले आलोचना गरे। तर जे जे भए पनि २०८१ सालमा बालेन चर्चामा रहिरहनुभयो ।

५. पारस खड्का: ‘खेलाडीबाट क्रिकेटको नेतृत्वसम्म’

नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का खेल मैदानबाट प्रशासकीय भूमिकामा आएपछि उत्तिकै चर्चित रहनुभयो। नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस निर्वाचित भएपछि क्रिकेट सुधारको आशा बढ्यो । पारसकै अगुवाईमा नेपाल प्रिमियर लिग (NPL) को सफल आयोजना भयो । नेपाली क्रिकेटको क्यालेण्डर कार्यान्वयन, खेलाडीको सुविधादेखि पूर्वाधार निर्माणसम्म सक्रिय पारसको कदमले नेपाली क्रिकेट समर्थकलाई खुसी बनायो । तर, पारसमाथि पनि राजनीतिक हस्तक्षेपको आरोप लाग्यो। क्रिकेट संघभित्रको अन्तरद्वन्द्वहरु बाहिर आइरह्यो । यी सबै कारणले पारसको नाम वर्षभरी नै छाइरह्यो ।

६. सतिशकुमार सिंह : ‘मुख्यमन्त्रीदेखि अस्पताल अनुगमनसम्म’

मधेश प्रदेशको अंकगणित मात्रै हेर्दा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री हुने कुनै सम्भावना नै थिएन । प्रदेशको चौथो दल, त्यहाँमाथि सिंह दलको नेता पनि होइन तर पार्टी अध्यक्ष सीके राउतको आशिर्वादले मुख्यमन्त्री हुनुभयो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष सिंह लोकतान्त्रिक पार्टी त्यागेर जनमतमा प्रवेश गरेकै वर्ष प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो । मन्त्रिपरिषद्माक विस्तारमा सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस-एमालेको आलोचना खेपेका सिंहले पार्टीलाई स्पष्टीकरण नै बुझाउनु पर्यो । तर पछिल्लो समय सिंह २०८१ सालमा सामाजिक सेवाका कामहरूका कारण चर्चामा रहनुभयो । प्रदेशका अस्पतालहरूको अनुगमन गर्दा देखिएको अव्यवस्था सामाजिक सञ्जालमा भाइरल बन्यो। तर, स्वास्थ्य क्षेत्र सुधारका लागि मुख्यमन्त्री सिंहले चालेका कदमहरूलाई कतिपयले ‘स्टन्ट’ मात्र भने। आलोचकहरूले कार्यशैलीमा ‘नाटकीयता’ देखे पनि सिंह चर्चामा रहिरहनुभयो ।

७. दुर्गेश थापा: ‘दुश्मन हेरेको हेर्यैर’

आफूलाई पर्फमर भन्न रुचाउने दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यैग’ अहिले गीत मात्र होइन, एक ट्रेन्ड बनेको छ। तीन महिनामै पाँच करोड भ्युज पार गरेको यो गीतले दुर्गेशलाई फेरि एक पटक नेपाली संगीतको केन्द्रमा ल्याइदिएको छ। कन्सर्टदेखि महोत्सवसम्म, थापाको व्यस्तता चुलिएको छ। आफ्ना अघिल्ला गीतहरूमा आलोचना खेपेका दुर्गेश यसपटक भने सचेत भएका छन्। अब मेरा छोराछोरीले बाले यस्तो नराम्रो शब्द गाएको रहेछ भन्नु नपरोस्, भन्दै निष्कर्षसहित दुर्गेशले आफूलाई सुधार्ने प्रण गर्नुभएको छ । हेलिकोप्टर चडेर एकै दिन विभिन्न महोत्सवमा पुग्ने दुर्गेशले एसईई परीक्षा चलिरहेका बेला कुनै पनि कन्सर्ट र महोत्सवमा सहभागी नहुने उद्घोष गरेर एउटा अभिभावकीय भूमिका निर्वाह गर्नुभयो । दर्शक-श्रोताको मन जित्न मात्र होइन, अब संगीत यात्रालाई नयाँ दिशा दिन तयार दुर्गेश २०८१ सालको चर्चित पात्र हुनुभयो ।

८. आरजु राणा देउवा: ‘भ्रष्टाचार काण्डमा नछुट्ने नामदेखि सफल परराष्ट्रमन्त्रीसम्म’

नेपाली कांग्रेसमा आफूभन्दा सिनियर नेतालाई दाइ भन्ने अभ्यास छ, अनि दाइको श्रीमतीलाई भाउजु । यसर्थ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कांग्रेसजनका भाउजु । यीनै भाउजु भ्रष्टाचारको काण्डमा जोडिने गरेकाे सधैं चर्चा हुन्छ । टीकापुर जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्डदेखि कांग्रेस कोटाबाट सरकारले गर्ने हरेक नियुक्तिमा आरजु नजोडिएको ठाउँ नै हुँदैन । समानुपातिक सांसद, महिला कोटाबाट कांग्रेस केन्द्रीय सदस्य, संसदको कृषि समितिको सभापति अनि परराष्ट्रमन्त्री । आरजु अवसर नै अवसरले छोपिएको पात्र । देउवा पत्नी भएकै कारणले आरजुले अवसर पाएको रुपमा अर्थ्याइयो । तर परराष्ट्रमन्त्रीका रुपमा आरजुले आफू देउवा पत्नी मात्रै होइन योग्यता र क्षमताले मन्त्री हुन उपयुक्त भएको पुष्टि गर्नुभयो । कतिपयले त आरजुले नै सरकार चलाइरहेको रुपमा पनि टिप्पणी गर्ने गरेका छन अनि कांग्रेसको भावी नेतृत्व पनि भन्ने गरिएको छ । जे होस आरजु अवसर र चर्चाको पर्याय बनिरहनुभयो ।

९. सावित्रा भण्डारी (साम्बा): ‘नेपाली फुटबलकी कीर्तिमानी खेलाडी’

खेलमा फुटबलको चर्चा नहुने अनि नेपाली महिला फुटबलमा सावित्रा भण्डारी साम्बा छुट्ने यो कल्पना बाहिरको कुरा । लमजुङमा मोजाको बल खेल्नेदेखि लिएर विभागीय क्लब एपीएफको महत्वपूर्ण सदस्य, महिला राष्ट्रिय टोलीको बलियो खम्बा, भारतीय लिग र युरोपको कुनै पनि लिग खेल्ने पहिलो नेपाली खेलाडी । नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी । नेपाली राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनले साम्बालाई सधै‌ चर्चामा राखिरह्यो । वर्ष २०८१ पनि यसबाट विमुख हुने कुरै भएन ।

१०. विजय बराल: ‘पूर्णबहादुरको सारङ्गीदेखि नायकको नयाँ परिभाषा’

नेपाली फिल्म उद्योगमा आफूलाई अब्बल कलाकारका रूपमा स्थापित गरिसकेका विजय बरालका लागि हिरोको परिभाषा समयअनुसार बदलिँदै गयो। बरालको बुझाइमा हिरो हुनु केवल अभिनयमा अब्बल हुनु होइन, आफ्नो आचरण र योगदानले समाजमा सकारात्मक प्रभाव पार्नु पनि हो। २०८१ सालको बहुचर्चित र सर्वाधिक सफल चलचित्र पूर्णबहादुरको सारङ्गीमार्फत बरालले एकै पटक तीनवटा चरित्र निभाउने अवसर पाउनुभयो-उमेरको हिरो, लोग्नेको भूमिका, अनि बाबुको भूमिकामा हिरो। यी तीनै भूमिकालाई न्याय गर्न सकेकाले दर्शकले बराललाई मन पराए। यो फिल्मले ‘गुड लुकिङ’ मात्र होइन, पात्रकै हिसाबले पनि हिरो हुन सकिन्छ भन्ने प्रमाणित गर्योन। रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेका बराललाई सहायक भूमिकाबाट माथि उठ्नै नसक्ने/ नसकेको आरोप खेपेका बरालले त्यसलाई गलत सावित गरिदिनुभयो । अनि हिरोको मानकनै फेरिदिनुभयो । यसले बराललाई चर्चित बनायो ।

यी १० चर्चित व्यक्तिहरूले आफ्नो क्षेत्रमा प्रभाव पार्न सफल भए। कोही उपलब्धिका कारण, कोही विवादका कारण चर्चामा रहे। तर, एउटा कुरा स्पष्ट छ- यी सबै पात्रहरू नेपाली समाजमा महत्त्वपूर्ण प्रभाव पार्न सफल हुन् । अब, २०८२ मा उनीहरू के गर्छन् भन्ने जिज्ञासा अझै कायम रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *