राजावादीको आन्दोलन : पसलेहरूको आन्तरिक द्वन्द्व उदेकलाग्दो

काठमाडौं : केही दिनयता राजनीतिक बजारमा फेरि राजावादी आन्दोलनको विनिमय सुरु भएको छ ।
आन्दोलनको चर्चाले ग्राहकहरु केही हदसम्म उत्साहित त छन् तर पसलेहरुको आन्तरिक द्वन्द्व भने उदेकलाग्दो अवस्थामा अघि बढ्दैछ ।
फागुनको अन्तिम साता पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा गरिएको र्यालीपछि हौसिएको राजावादी आन्दोलन आपसी मतभेद र जुंगाको लडाईंले आफै थिलथिलो बन्ने जोखिमतर्फ उन्मुख बन्दैछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेकामध्ये एक दुर्गा प्रसाईंले बुधबार एउटा कार्यक्रम गरी राजावादी आन्दोलनको असली नायक आफू भएको घोषणा गर्नुभयो ।
उहाँले आफ्नो बखान मात्र गर्नुभएन, खासमा राजतन्त्र स्थापनाको एजेण्डा नै बोकेर राजनीति गरिरहेका दलहरु राजावादी नभएको जिकिर गर्नुभयो । उहाँले राजावादी दलहरु राप्रपा र राप्रपा नेपालले बीचमा राजनीति खेलेको आरोप लगाउनुभयो ।
त्यसको एक दिनअगाडि बसेको राप्रपाको बैठकले राजतन्त्र पुनर्स्थापना एजेण्डाको प्रतिलिपि अधिकार अरु कुनै समूहको नभई आफ्नो भएको दाबी निश्कर्ष निकाल्यो । अनि आन्दोलनको नेतृत्व चाँहि आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने निर्णय गर्यो ।
लिङ्देनको पार्टीले राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा नै बोकेर निर्वाचन लड्दै आएको छ भने संघीय संसदमा यो पार्टीका १४ सांसद छन् । त्यसो त प्रदेशसभाहरुमा पनि यो पार्टीले प्रतिनिधित्व गरिरहेको छ । अनि कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टीको एजेण्डा पनि योसँग मेल खाने खालकै छ । राप्रपाको अध्यक्ष पदमा हारेर राप्रपा नेपाल व्युँत्याउँदा कमल थापाले राजा नबोक्ने घोषणा गरे पनि अन्ततः उहाँ राजतन्त्रको मागमा फर्किनुलाई सामान्य नै मानिएको छ ।
र, यतिबेला अचानक नवराज सुवेदीको नेतृत्वमा राजा फर्काउने अभियान नै घोषणा भएको छ । यी चारवटा संयोगभित्र यति ठूलो असंगति छ कि राजा फर्काउन सडकमा आउन चाहनेहरु अब कसलाई समर्थन गर्ने भन्नेमा अन्योलमा पर्ने अवस्था बनेको छ ।
अर्थात्, लिङ्देन, थापा, सुवेदीदेखि प्रसाईंसम्ममा देखिएको जुँगाको लडाईंले राजावादी आन्दोलन बरमझियाको पेडा जस्तो बनेको छ । बुढो बाजेको पसलले आन्दोलन हाँक्ने हो कि, असली बुढो बाजेको पसलले पो आन्दोलनको नेतृत्व गर्ने हो त्यसले ग्राहकहरु अलमलमा छन् ।
तर महत्वपूर्ण कुरा त के छन् भने यी थरीथरी नामधारी बाजेहरुले पेडा चाँहि बनाउँछन् कि आपसी द्वन्द्वले अहिलेकै समर्थन् गुमाउँछन् भन्नेमा आशंका छ । एक त यो आन्दोलनका लागि भन्दै जुन समिति बनेको छ त्यसप्रति नै चरम असन्तुष्टि छ । नेतृत्व पाएका नवराज सुवेदीबाहेक समितिमा नाम समावेश गरिएका सबैजसो असन्तुष्ट छन् ।
आफ्नै सक्रियतामा सुवेदीलाई आन्दोलनको नेतृत्वमा पु¥याएको दाबी गरिरहेका प्रसाईं थरीथरी कार्यक्रममा थरीथरी भनाइ राखिरहनुभएको छ । यसले राजावादी आन्दोलन सुरु नहुँदै फासफुस पो हुने हो कि भन्ने टिप्पणी हुन थालेका छन् । यो बाहेक राजावादी आन्दोलनमा सहभागीहरुको पृष्ठभूमि, भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो बोक्दा सुरु भएको आलोचना जस्ता कुरा थप गम्भीर बन्दै गएका छन् ।
प्रतिक्रिया