पार्टीमा ‘हिटलर’ बन्दै माधव नेपाल

काठमाडौं : एमालेको ९ औँ महाधिवेशन पछि केपी शर्मा ओली हावी हुनुभयो । उहाँले एमालेका पुराना नेता माधवकुमार नेपाललाई कर्नरमा पार्न थाल्नुभयो । माओवादीसँगको पार्टी एकतामा समेत वेवास्ता गरिएका नेपाल रुष्ट हुँदैहुनुहुन्थ्यो । नेकपा विभाजनपछि पुरै वेवास्तामा पर्नुभएका नेपालले ओलीको निरंकुश शैलीको विरोधभन्दै पार्टी नै विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुभयो । तर, अहिले नेपाल त्यही बाटोमा हुनुहुन्छ । आफ्ना विरोधीहरुलाई नेपालले बोल्ने मञ्चसम्म खोसिदिनुभएको छ ।
२०७८ साउन ७ मा माधव नेपालले एक सार्वजनिक कार्यक्रममा केपी ओलीलाई ‘हिटलर’ को संज्ञा दिनुभएको थियो । तानाशाही शैली, पार्टीभित्र आलोचना नस्वीकार्ने प्रवृत्ति, निर्णय आफैं गर्ने स्वभावलाई उहाँले ओलीको मुख्य दोष देखाउनुभएको थियो । नेपालका अनुसार ओलीले विरोधीहरूमाथि अंकुश लगाउनुभएको थियो । विचार दबाउनुभएको थियो र असहमतिलाई स्वीकार्न नसक्ने प्रवृत्ति देखाउनुभएको थियो ।
तर समयले कहिलेकाहीँ यस्तो खेल खेल्छ कि, जो व्यक्ति हिटलर प्रवृत्तिको आलोचक थिए, उहाँ आफैं त्यही बाटोमा हिँड्न थाल्नुभएको छ । अहिले नेपालले पार्टीभित्र असहमति राख्नेहरूमाथि जुन रवैया देखाइरहनुभएको छ त्यसलाई के भन्न? हुन त उहाँका पक्षका नेताहरू यसलाई सामान्य मान्छन् नै ।
शनिवार केन्द्रीय कमिटी बैठकमा जब अपानिबाट हटाइएकी अनेरास्ववियूकी अध्यक्ष आरती लामाले पार्टीभित्रको अन्यायको सवाल उठाउनुभयो, नेपालको वास्तविक चरित्र देखियो। उहाँले आरतीलाई बोल्नै दिनुभएन, चिच्याउँदै ‘चूप लाग्नू’ भनेर रोक्नुभयो। यत्तिसम्म कि नेपाल आफैं उठेर लामालाई धम्क्याउन तम्सिनुभयो। उहाँलाई रोक्न घनश्याम भुसाल र अन्य पदाधिकारीहरू आउनुपर्यो । यो दृश्यले २०७७ सालमा रामकुमारी झाँक्रीको मास्क र टेप बाँधेको सांकेतिक विरोधलाई सम्झाइदियो।
झाँक्रीले ओलीको निरंकुशताविरुद्ध प्रतिरोध गरेको दृश्य थियो यो । तर आज सोही शैलीको प्रतिरोध गर्नुपर्ने अवस्था एकीकृत समाजवादीकै बैठकमा आयो।
नेपालको समस्या के हो भने, उहाँ आफैंले बोलेका कुरालाई व्यवहारमा लागू गर्न सक्नुहुन्न । उहाँले ओलीको आलोचना गर्दा ‘पार्टीभित्र लोकतन्त्र छैन’ भन्नुभयो, तर आफैंले नयाँ पार्टी खोलेपछि उहाँ के गरिरहनुभएको छ रु जसले उहाँलाई साथ दिए, जसले नयाँ दल बनाउने निर्णयमा उहाँसँगै संघर्ष गरे, तिनलाई ओझेलमा पार्ने र जिम्मेवारी नदिएर असहिष्णु बन्दै आउनुभएको छ ।
माधव नेपालको राजनीति त्यही पुरानो सूत्रमा चलेको छ— ‘जो सत्तामा हुन्छ, ऊ सहीस जो विपक्षमा हुन्छ, ऊ अन्यायमा परेको’। केही समयअघि उहाँले, ‘अपमान सहेर कोही बस्दैन।’ भन्नुभएको थियो । हो, अपमान सहेर कोही बस्दैन। आरती लामाले बस्न सकिनन्। विद्रोह गर्दै बाहिरिइन्। भोलि झलनाथ खनाल, घनश्याम भुसाल पनि विद्रोह गरे भने अचम्म नमान्नुहोस्। कनकि पार्टीभित्र निरंकुशता लाद्ने हो भने, असहमतिको ठाउँ नराख्ने हो भने, भोलि सोही विद्रोह हुनेछ, जुन ओलीविरुद्ध नेपालले गर्नुभएको थियो ।
प्रतिक्रिया