असन्तुष्ट पक्षकाे मागमा अध्यक्ष ओली लचिलाे हुने देखिन्न !

मधुकर लुइटेल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सदस्यले उठाएका विषयबस्तुमाथि अध्यक्षसमेत रहनुभएकाे प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जवाफ दिँदै हुनुहुन्छ । माग सम्बोधन हुने विश्वास असन्तुष्ट नेताको छ । तर, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति सुन्दा आलोचना भएका विषयमा पनि उहाँ सजिलै पछाडि हट्ने मूडमा चाहिँ देखिनुहुन्न ।

अध्यक्षद्धयले संयुक्त रुपमा प्रतिवेदन ल्याएकाले अंकगणितकै कुरा गर्ने हो भने नेकपाको स्थायी कमिटीमा ओली र प्रचण्डसँग सुविधाजनक बहुमत छ । त्यसैले प्रतिवेदनजस्ताको त्यस्तै पास गर्न सकिने अबस्था र सुविधा अध्यक्षद्धयलाई छ । तर, पनि बैठममा आएका फरक मतमा अध्यक्षद्धयले के जवाफ दिनुहुन्छ ? सत्तारुढ दल नेकपाभित्र धेरैको चासो छ । प्रतिवेदनमा असन्तुष्टी राख्ने नेताहरु आफुहरुले उठाएका मुद्दा अध्यक्षद्धयले सम्बोधन विश्वास र आशामा छन् ।

असन्तुष्ट नेताहरुको यो विश्वापछि नेकपाको बैठकमा अध्यक्षद्धयको प्रतिवेदन र सरकारको कामवारे भएको समर्थन र आलोचनाका अंकगणित हेरौँ । स्थायी कमिटीमा ४७ नेताले धारणा राखे, त्यसमा ३२ नेताले अध्यक्षद्वयको प्रतिवेदनको ‘मूल स्पिरिट’ मा समर्थन जनाए । वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत १६ नेताले प्रतिवेदन पुनर्लेखनको माग गरे ।

बैठकको अर्को तस्वीर पनि छ । बहुमत सदस्यले सरकारको काम र प्रधानमन्त्रीको कार्यशैलीको विरोध गरे । ४७ मध्ये २१ नेताले मात्र सरकारको बचाउ गरे । त्यसमा पनि संस्थापनपक्षकै कतिपय नेताले सरकारको कामको विरोध गरे । बैठकको अंक गणितजस्तो सुकै भएपनि आफ्नो र सरकारको विरोधमा उत्रेका नेताहरुको माग सम्बोधनमा प्रधानमन्त्री ओली उदार हुने सम्भावना कम देखिन्छ । उदारणका लागि ओली निकट मानिने नेताले नै एसिया प्यासिफिक समिटका विषयमा प्रश्न उठाउदासमेत प्रधानमन्त्री अहिले समिटमा सरकार र नेकपाको सहभागिताको बचाउमा हुनुहुन्छ ।

बैठकमा पूर्व एमालेबीच गुटगत शक्तिसंघर्ष देखिएपनि अर्का अध्यक्ष प्रचण्डले भने नारायणकाजी श्रेष्ठबाहेक पूर्वमाओवादीलाई एउटै किक्तामा राखेका छन् । र आफैले समेत ल्याएको प्रतिवेदनमा प्रचण्डले समर्थन जनाउनुको विकल्प छैन् । त्यसैले बहुमतकै आधारमा भएपनि स्थायी कमिटीबाट प्रतिवेदन पास हुनेछ । तर, असन्तुष्टका चासो सम्बोधनमा ओली र प्रचण्ड उदार नभए विवाद मिलाउन बोलाइएको स्थायी कमिटी बैठकले थप विवाद जन्माउनेछ । त्यसैले ओली र प्रचण्डले बैठकमा दिने जवाफले नेकपाको अवको दिशा र दशा तय गर्नेछ ।

shares