नेपाल प्रहरीको रासन भत्ता : २०१ रुपैँयामा चार छाक

काठमाडौं : तपाई हाम्रा लागि २४सैं घण्टा सुरक्षामा खटिने प्रहरीको रासन भत्ता कति हुन्छ ? तपाईलाई थाहा छ ? सुन्दा अचम्म लाग्न सक्छ, एक दिन अर्थात चार छाकका लागि २ सय १ रुपैयाँ मात्रै रहेछ । प्रहरीले पाउने रासन भत्ता प्रहरीका लागि सहयोगी कुकुरकोभन्दा पनि कम हुन्छ । प्रहरीको सहयोगका लागि खटिने कुकुरले प्रत्येक दिन ४ सय ४२ रुपैयाँ पाउँछ । नेपाल प्रहरीलेभन्दा बढी सशस्त्र प्रहरीले नै भत्ता खान्छ ।
प्रहरीका कर्मचारीको रासन भत्ता रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने व्यवस्था छ। जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सरोकारवाला निकायको सल्लाहमा मूल्यवृद्धिलाई ख्याल गरेर रासन भत्ता तोक्ने प्रावधान भएपनि त्यसो पाउँदैनन् । प्रहरीलाई केन्द्रले तोकेरै रासन भत्ता दिने गरेको छ । त्यसैले तीन प्रमुख सुरक्षा निकायका कर्मचारीले पाउने रासन भत्ता नै फरक–फरक छन् । विशेष गरी नेपाल प्रहरीको कम रहेको छ ।
उपत्यकासहित सातै प्रदेशमा नेपाल प्रहरीका कर्मचारीभन्दा सशस्त्र प्रहरीकै कर्मचारीले बढी रासन भत्ता पाउने गरेका छन् । जस्तै, उपत्यकामा सशस्त्र प्रहरीका लागि २ सय ३ रुपैयाँ दैनिक भत्ता तोकिएको छ भने नेपाल प्रहरीले २ सय १ रुपैयाँ पाउँछन् । कास्कीमा सशस्त्र प्रहरीले २ सय २३ रुपैयाँ १० पैसा रासन बराबरको रकम पाउँछ । नेपाल प्रहरीले २३ रुपैयाँ कम गरेर २ सय रुपैयाँ १० पैसा पाउँछ । अछाममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा ८५.१० रुपैयाँ फरक पर्छ । अछाममा नेपाल प्रहरीको एक दिनको रासन रेट २५८.७५ रुपैयाँ छ । सशस्त्र प्रहरीले ३४३.८५ रुपैयाँ पाउँछन् ।
अछाम पोस्टिङ भएका नेपाल प्रहरीले रासनबापत वर्षमा सशस्त्र प्रहरीले भन्दा ३१ हजार ६१ रुपैयाँ कम रकम प्राप्त गर्छन् । उता सर्लाहीमा काम गर्ने नेपाल प्रहरीले रासनबापत दैनिक १९२.०५ रुपैयाँ बुझ्दा सशस्त्र प्रहरीले २७१.४० बुझ्छन्। हिमाली जिल्ला संखुवासभा र ताप्लेजुङमा काम गर्ने नेपाल प्रहरीले दैनिक २६७.९५ रुपैयाँ पाउँछन्। त्यहाँ सशस्त्र प्रहरीले ३४७.३० प्राप्त गर्छन् । सर्लाही, संखुवासभा र ताप्लेजुङमा काम गर्ने सशस्त्र प्रहरीले नेपाल प्रहरीले भन्दा दैनिक ७९.३५ बढी रुपैयाँ प्राप्त गर्छन् । नेपाल प्रहरीको रासनमा यसअघि २०७८ साउन १ गतेबाट लागू हुने गरी १५ प्रतिशत वृद्धि भएको थियो।त्यसपछि रासन बढेको छैन । समयानुकुल ढंगले हेर्ने हो भने प्रहरीले पाउँदै आएको रासन बराबरको रकम कम देखिन्छ ।
हामीले प्राप्त गरेको आँकडाअनुसार काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी कर्मचारीले दैनिक रूपमा पाउने रासन भत्ता जम्माजम्मी २०३ रुपैयाँ रहेछ। त्यही रकमबाट सशस्त्र प्रहरी कर्मचारीले दुई छाक खाना र बिहान बेलुकीको खाजा पुर्यामउनुपर्ने रहेछ। यो पनि बढेको रकम रहेछ। २०७९ सालअघि त यो भत्ता १६७ रुपैयाँ मात्र रहेछ। सशस्त्र प्रहरी कर्मचारीको रासनबापतको भत्ता रकम जिल्लापच्छे फरक–फरक छ। त्यसमा सुगम र दुर्गमको भत्ता फरक–फरक हुन्छ। काठमाडौँ उपत्यकामा मासिक पाँच हजारदेखि ६ हजार रुपैयाँ रासन भत्ता छ भने हुम्ला जुम्ला जस्ता विकट जिल्लामा मासिक १० हजार छ। नेपाल प्रहरीले अपराध अनुसन्धानको जिम्मेवारीमा सघाउन कुकुर राख्ने गरेको छ।
सशस्त्र प्रहरीको जिम्मेवारी अपराध अनुसन्धान नभए पनि कुकुर राख्ने प्रहरीकै यो अभ्यास सशस्त्र प्रहरीमा पनि छ। रोचक के भने सशस्त्र प्रहरीमा मानिसभन्दा कुकुरको रासन भत्ता ज्यादा छ। कुकुरलाई भने ५० प्रतिशत बढी रासन भत्ता छुट्याइएको छ। रासन विवरणअनुसार एउटा कुकुरको रासन भत्ता दैनिक ३९२ रुपैयाँ छ। मूल्य अभिवृद्धि करसमेत जोड्दा यो रकम ४४२ रुपैयाँ पुग्छ। उनीहरूलाई दैनिक ८०० ग्राम राँगाको मासु,५०० ग्राम चामल या पिठो, २०० ग्राम हरियो तरकारी, एउटा अण्डा,५०० मिलिलिटर दूध, पाँच ग्राम मिनरल मिक्स्चर र चार पिस डग बिस्कुट दिने गरिएको छ। यसले पनि देखाउँछ कि सुरक्षकर्मीको रासन भत्ता कम छ ।
प्रतिक्रिया