Political Hightlights

राजनीतिमा उथलपुथल भएको वर्ष-२०८१

हिमालय टिभी
२०८१ चैत ३० गते १९:४४
राजनीतिमा उथलपुथल भएको वर्ष-२०८१

काठमाडौं : वर्ष २०८१ नेपाली राजनीतिमा पनि उथलपुथलपूर्ण रह्यो । दशकपछि कांग्रेस एमाले मिलेर सरकार बनाए । संसदको चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिए । यति मात्रै होइन् पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपतिले राजनीतिक सक्रियता बढाए । पूर्वराजा ज्ञानेन्द्र शाहको पृष्ठपोषणमा तीनकुने घटना भयो ।

कांग्रेस–एमालेबीच सत्ता सहकार्य

२०८१ असार १७ गते मध्यरातमा संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले सत्ता सहकार्य गर्ने सहमति गरे । २०७९ मंसिरको निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालैपालो धोका दिएपछि दुई दल मिलेर सरकार चलाउने सहमति गरेका हुन् । ७ बुँदै सहमति गर्दै पहिलो कार्यकाल केपी शर्मा ओली र दोस्रो कार्यकाल शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भयो । सहमति अनुसार एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । असार २८ गते प्रचण्डले विश्वासको मत नपाएपछि असार ३० ओली प्रधानमन्त्री नियुक्त हुनुभयो। साउन ६ गते उहाँले विश्वासको मत लिनुभयो । अहिलेसम्म कांग्रेस एमाले गठबन्धन सरकार चलिरहेको छ ।

रवि लामिछाने पक्राउ

वर्ष २०८१ मै भएको अर्को राजनीतिक घटना हो, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउ । प्रहरीले लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै २०८१ कात्तिक २ गते उनकै पार्टी कार्यालयबाटपक्राउ गरेको थियो । सुरुमा कास्कीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएर लामिछाने पक्राउ परेका थिए । त्यसपछि काठमाडौं, चितवन, बुटवल र पर्साबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भयो । ८४ दिन लामो अनुसन्धानपछि लामिछाने पुस २५ गते धरौटी बुझाएर रिहा भए । त्यसपछि बाहिरै रहेर मुद्दा लडिरहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेपछि चैत २२ गते पक्राउ परे ।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको राजनीतिक सक्रियता

वर्ष २०८१ मै पूर्वराष्टपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक सक्रियता बढाउनुभयो । नेकपा एमालेको उपाध्यक्ष भएकै बेला राष्ट्रपति हुनुभएकी भण्डारीले पुनः एमालेबाट सक्रिय राजनीतिको कसरत सुरु गर्नुभयो । करिब साढे सात वर्षपछि २०८१ वैशाख १ गते नयाँ वर्षका दिन भण्डारीले एमालेको सदस्यता नविकरण गर्नुभएको हो । त्यसपछि उहाँ देशका विभिन्न ठाउँमा गएर नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुभयो । पार्टीमा विभिन्न तहमा भएका अधिवेशनमा पनि उहाँले भूमिका खेल्नुभयो । तर, अहिलेसम्म उहाँले एमालेमा कुनै जिम्मेवारी पाउनुभएको छैन् । यता माओवादी केन्द्रबाट उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुनले त पार्टीमा पद नै पाउनुभयो । पुस २१ देखि २३ सम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पुनलाई अध्यक्ष प्रचण्डले उपाध्यक्षको लहरमा राख्नुभएको थियो । त्यसै बैठकपछि पुनलाई माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिइएको थियो । त्यसपछि चैत १९ गतेको पदाधिकारी बैठकले पुनलाई पार्टी उपाध्यक्षमा मनोनीत गर्यो ।

पूर्वराजा र तीनकुने घटना

वर्ष २०८१ मै पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाउनुभयो । यसअघि खासै सक्रियता नदेखाएका ज्ञानेन्द्रले फागुन ६ गते अर्थपूर्ण भिडिओ सन्देश जारी गर्नुभयो । उहाँले आफूलाई साथ दिन जनतासँग आह्वान नै गर्नुभयो । फागुन २५ गते ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदा राजावादीहरुले उहाँलाई नारावाजीसहित स्कटिङ गरेर निवाससम्म पुर्याए । त्यो जनलहरबाट हौसिएका राजावादीले चैत १५ गते काठमाडौंमा प्रर्दशन गरे । गणतन्त्र फालेर राजतन्त्र ल्याउने भन्दै दुर्गा प्रसाईंहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भयो । प्रहरी र प्रदर्शनकारी गरि एक सय ५० भन्दा बढी घाईंते हुँदा दुई जनाको त ज्यानै गयो । घटनापछि फरार भएका दुर्गा प्रसाईं चैत २८ गते भारतको आसामबाट पक्राउ परे ।

दुई तिहाईलाई अध्यादेशमा अड्को

कांग्रेस एमालेले दुई तिहाईको सरकार चलाइरहेका छन् । सरकारले अधिवेशन नचलेका बेला ६ वटा अध्यादेश जारी गर्यो । तर, सरकारलाई समर्थन गरेको दल जसपा नेपालले अध्यादेशमा असन्तुष्टि देखायो । प्रतिनिधिसभामा जसपा नेपालबाहेक पनि कांग्रेस एमालेको बहुमत पुग्थ्यो । राष्ट्रिय सभामा भने जसपा नेपालले साथ नदिए अध्यादेश पास गर्न आवश्यक संख्या पुग्दैन थियो । भूमि सम्बन्धी अध्यादेशमा असन्तुष्टि जाहेर गर्दै जसपा नेपालले अड्को थापिरह्यो । उसलाई फकाउन उपप्रधानमन्त्रीसहित एक मन्त्रालय वा मधेस मुख्यमन्त्रीसम्म दिन कांग्रेस एमाले तयार भए । तर, जसपा नेपालले मानेन । भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा अध्यादेशमा मात्रै जसपा नेपालले समर्थन गर्यो । दुई तिहाइको सरकार भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन बाध्य भयो ।

तीनै तहको उपनिर्वाचन

वर्ष २०८१ मा तीनै तहको उपनिर्वाचन पनि सम्पन्न भयो । वैशाख १६ गते प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाको बझाङ क्षेत्र नम्बर १ को १ मा उपनिर्वाचन भयो । इलाममा एमालेका सुहाङ नेम्वाङ र बझाङमा पनि एमालेकै दमनबहादुर भण्डारी विजयी हुनुभयो । स्थानीय तहतर्फ मंसिर १६ गते उपनिर्वाचन सम्पन्न भयो । उपनिर्वाचनमा माओवादी केन्द्रले सविक भन्दा बढी ठाउँमा जित हात पार्दा कांग्रेस र एमालेले यसअघि जितेका ठाउँ गुमाउन पुगे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *