देशमा भएका १० अपराधको नालिबेली

काठमाडौं : नयाँ वर्ष २०८२ लाई स्वागत गर्दैगर्दा २०८१ विदा हुँदैछ । यो वर्ष अपराधको दुनिया कस्तो रह्यो त ? २०८१ सालको अन्तिम महिना चैतमा ठूला हिंसात्मक प्रदर्शन भए, काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा २ जनाले ज्यान गुमाउनुपर्यो भने केही घाइते भए । प्रहरीले धरपकड नै गर्यो । त्यसबाहेक हत्या, बलात्कार, बैंकिङ कसुर, सहकारी ठगीका कैयौं उजुरी परेका छन् । समग्रमा २०८१ सालमा ४० हजारभन्दा अपराधका घटनामा उजुरी परेको प्रहरीको तथ्यांकले देखाएको छ । यसपटक अनलाइन ठगीमा बृद्धि देखियो । लागूऔषध ओसारपसार, मानव तस्करीका अपराध पनि कम भएनन् । कस्तो रह्यो २०८१ मा अपराध ?
नेपाल प्रहरीले २०८१ फागुनसम्मको अपराध सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । प्रहरीका अनुसार २०८१ फागुनसम्म ३७ हजार ४९ मुद्दा दर्ता भएको तथ्यांक राखेको छ । त्यसमध्ये १० हजार ९ सय ३४ मुद्दा फर्स्यौट भएका छन् भने २६ हजार १ सय १५ वटा मुद्दा टुंगिन बाँकी छ । चैत महिनामा पनि अपराधका शिलशिला रोकिएनन् । यसवर्ष भएका मुख्य आपराधिक घटना हेरौं ।
घटना : १
वर्षको अन्त्यतिर चैत १५ मा काठमाडौंको तिनकुनेमा राजावादीहरुले प्रदर्शन गरे, प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनुपर्यो, १२८ जना घाइते भए । ४१ जनाभन्दा बढी पक्राउ परिसकेका छन् । त्यसमध्ये राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा सहित २० जनाको म्याद थप्दै हिरासतमा राखिएको छ । चैतको अन्तिमतिर २९ गते घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ।
घटना : २
प्रहरीले चैत ५ गते मध्यरात ट्रकभित्र फल्स बटम बनाएर डलर र युरोसहित २५ करोड रुपैयाँ फेला पार्यो । काठमाडौैंको टोखा बाट ना ७ ख १६५२ ट्रक र चालक कुङसाङ लामा उर्फ फुच्चेलाई नियन्त्रणमा लियो। तर, मुख्य नाइके फरार छन् । प्रहरीले नारायण पौडेललाई मुख्य नाइके मानेको छ । प्रहरीका अनुसार पौडेल यसअघिसमेत रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन हुन्डी कारोबारमा संलग्न कारोबारी हुन् । उनी प्रहरीकै राडारभित्रका आरोपी हुन् ।
घटना : ३
फागुन २६ गते शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती नदीको छेउमा बोरा र तन्नाले बेरिएका अवस्थामा शब फेला पर्यो। प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अन्दाजी ३५ वर्षीया महिलाको शव फेला पार्यो । घटनामा संलग्नको आरोपमा एक नाबालकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो तर, उनीहरु संलग्न नरहेको अनुसन्धानबाट खुलेको छ । सीसीटीभी फुटेजमै देखिएको हुलियाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी चुकेको छ ।
घटना : ४
फागुन १३ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार दुईजनालाई सार्वजनिक ग¥यो। ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका ललितपुुरका ३३ वर्षीय सुधीर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारी थिए । ब्युरोको टोलीले टोखा नगरपालिका–४ स्थित एउटा घरमा रहेको गोदाममै छापा मारेर पाँच लाख ६४ हजार १०० क्याप्सुल बरामद भयो । उनीहरूले भारतबाट तस्करी गरेर ल्याएको ट्रामाडोल काठमाडौंलाई आधार बनाएर बिक्री–वितरण गर्दै खुल्न आएको छ।
घटना : ५
माघ २१ प्रहरीले पाँच जना युवालाई पक्राउ गरि सार्वजनिक गर्यो । उनीहरु ३० वर्षमुनिका छन् । दुईजना युवा भने भारतीय नागरिक छन् । पक्राउ परेका युवाहरुले क्रिप्टो र अनलाइन ठगी मार्फत तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको भेटिएको थियो । यसरी संगठित ठगी गर्ने समूहमा पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरीया गाउँपालिका–६ का २२ वर्षीया माइकल डंगौरा चौधरी, सोही स्थानका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भिमेश्वरका १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका–९ का २२ वर्षीय सत्यम कुमार सहनी छन्।यसरी नै दुईजना भारतीय नागरिक रोशन कुमार र मुन्ना कुमार छन् ।
घटना : ६
माघ २ गते माध्यराति प्रहरीले चार जना भारतीय नागरिकलाई अपहरणको आरोपमा पक्राउ गर्यो । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरत, सोही ठाउँका अमोल खर्माते, युनुस सेख र अम्बादास सिरसत रहेका थिए । उनीहरुलाई ठमेलबाट चिनियाँ नागरिक यो हुन चुनलाई अपहरण गरेको आरोप छ ।
घटना : ७
पुस ९ गते ललितपुरमा कुलप्रसाद आचार्य र प्रविण आचार्यको घर भित्र नै हत्या भयो । प्रहरी अनुसन्धानका क्रममा कुलप्रसादका छोरा मिलन आचार्यले बुबा र भाइको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनी फरार भएको दुई दिन पछि पक्राय गर्यो । मिलनले ६–७ पटक लोकसेवाको परीक्षा दिँदासमेत पास नभएपछि हत्या गरेको खुलेको छ ।
घटना : ८
असोज २१ जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इटहरीका ताज स्लाम र इटहरीकै दर्शन पोखरेललाई पक्राउ गर्यो । उनीहरुले मनिषा महत नामकी युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर रकम असुल गर्ने धन्दा चलाएको खुलेको थियो । व्यवसायीलाई हनी ट्रयापमा पारेर ३० लाख रुपैयाँ असुल गरेको समूहले उक्त शैली पटक–पटक अपनाएको थियो। घटनामा इन्स्पेक्टर बिनु शाहीको समेत मिलोमतो देखिएपछि उनलाई निलम्बन गरियो । मनिषाले एक युवाको मायाजालमा पारेर हत्या गरेको आरोप पनि छ ।
घटना : ९
असार ३१ गते काठमाडौं प्रहरीको विशेष टोलीले ठमेलको एक होटलबाट आगूऔषध कोकिनसहित मलेसियन एक महिलालाई पक्राउ ग¥यो। पक्राउ पर्नेमा ४७ वर्षीय बथुमलाई भादिभालू थिईन । उनको साथबाट प्रहरीले पाँच किलो ८२० ग्राम कोकिन बरामद गरेको थियो । कोकिनको नेपाली मूल्य २० करोड ३७ लाख रुपैयाँ हुन्छ ।
घटना : १०
जेठ ६ गते काठमाडौं प्रहरीको विशेष टोलीले भक्तपुरका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाका २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाका विजय चौधरी, ५६ वर्षीया नुनमाया कार्कीलाई हत्या आरोपमा पक्राउ गर्यो । उनीहरुले ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्या गरेको आरोप छ ।
प्रहरी वर्ष २०८१ मा भने केही भीआईपीलाई पक्राउ गर्न सफल भयो । यो वर्ष मेयरदेखि सांसद ,मन्त्री, उपप्रधानमन्त्री र प्रहरीका डीआईजीसम्म भइसकेकाहरु पक्राउ पर्ने र कारागार पठाउनेसम्मको अवस्था रह्यो । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने चैत अन्तिमतिर मात्रै जिल्ला कारागार भैरहवा, रुपन्देही चलान भए । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका उनी अहिले भैरहवा कारागारमा पुर्पक्षमा छन् । सहकारी ठगीमै अर्का भीआईपी अहिले कारागारमै छन् । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीविरुद्ध विभिन्न पाँच वटा सहकारीका मुद्दामा अनुसन्धान भयो ।
सहकारी ठगीमै नेकपा एमालेबाट निर्वाचित ढोरपाटनका मेयर देवकुमार नेपाली पनि यसै वर्ष पक्राउ परे । पूर्वसांसद रहेका ढाकाकुमार श्रेष्ठ लागुऔषधसहित पक्राउ परे। कास्की प्रहरीले उनलाई लागूऔषध बेचेको आरोपमा पक्राउ गरेको थियो ।अर्का भीआईपी लिलाबल्लभ अधिकारी पनि यसै वर्ष प्रहरी हिरासत पुगे । कोशीको मन्त्री रहेकै बेला जापानमा मानव तस्करी गरेको आरोपमा उनी २६ कात्तिकमा पक्राउ परे। वर्ष २०८१ मा वर्ष पक्राउ पर्ने अर्का भीआईपी हुन् दीपक मनाङे । पटकपटक प्रदेश मन्त्री भएका सांसद मनाङे २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा छन् । अनुसन्धान भएका कतिपय घटनामा प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न दिने हो भने उत्कृष्ट काम गर्नसक्छ भन्ने नमुना पनि देखियो । बर्ष २०८१ प्रहरीले सफलता मानेको छ । तर, समग्रमा अपराध न्युनिकरणमा प्रहरीको भूमिका औसत नै रह्यो ।
प्रतिक्रिया