Main News

गगन थापा : सरकारको कोर टिममा बसेर सरकारकै आलोचना

हिमालय टिभी
२०८१ चैत २७ गते १९:५०
गगन थापा : सरकारको कोर टिममा बसेर सरकारकै आलोचना


काठमाडौं :
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गरिरहनुभएको छ । थापा वर्तमान सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन दुई दलले गठन गरेको संयन्त्रका सदस्य हुनुहुन्छ । तर उहाँले प्रधानमन्त्री ओलीसहित अरु मन्त्रीहरुको कार्य सम्पादनमा असन्तुष्टि जनाउँदै आउनुभएको छ । संयन्त्रमै बसेर थापाले किन सरकारको आलोचना गरिरहनुभएको छ ?

केही दिनयता कांग्रेस महामन्त्री गगन थापाले निरन्तर सरकारको आलोचना गरिरहनुभएको छ । वर्तमान सरकारले गति लिन नसकेको, सोचेअनुसार काम गर्न नसकेको र आम सरोकारका विषयहरुलाई बेवास्ता गरिरहेको टिप्पणी गर्दै आउनुभएको छ । बिहीबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं-४ मा आयोजित एक कार्यक्रममा थापाले सरकारले अपेक्षित गतिमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो । थापाले दुई दिनअघि गुल्मीमा आयोजित एक कार्यक्रममा पनि सरकारमाथि यस्तै टिप्पणी गर्नुभएको थियो ।

त्यसो त थापाले केही समयअघि सरकारले ल्याएका ६ वटा अध्यादेशको चौतर्फी विरोध हुँदा त्यसको मेहनतका साथ प्रतिरक्षा गर्नुभएको थियो । उहाँले सरकारले संविधान संशोधनको प्रतिबद्धता गरेर त्यसअनुसार काम गर्न नकसेको, नागरिकमा बढ्दै गएको निराशा र असन्तुष्टि चिर्न नसकेको जस्ता आरोप लगाइरहनुहुन्छ । तर थापाकै पार्टीका सभापति शेरबहादुर देउवा, जो वर्तमान सरकार अनि प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा निकटका साझेदार हुनुहुन्छ, उहाँचाहि सरकारको कामबाट खुसी नै हुनुहुन्छ ।

सरकारका काममा देउवा सन्तुष्ट हुनुहुन्छ, अनि महामन्त्री वा इतर खेमाका अरु नेताको असन्तुष्टिले देउवालाई केही फरक पारेको छैन । तर थापाले आफ्नो कुरा राख्न छोड्नुभएको छैन ।

आफ्नो पार्टी सत्ताको प्रमुख साझेदार हो, साझेदार नेता देउवा सन्तुष्ट हुनुहुन्छ, सरकारले गर्ने नियुक्ति र भागवण्डामा देउवालाई पुग्दो गरी भाग प्राप्त भइरहेको छ । सरकारमा महामन्त्री थापाकै खेमाबा६ मन्त्री बनेकाहरुको कार्य सम्पादनसमेत उत्कृष्ट हुन सकेको छैन ।

यस्तो अवस्थामा थापाको बारम्बारको सरकारप्रतिको कटाक्ष अर्थपूर्ण बन्न सकेको त छैन नै कुनै प्रभाव पार्न सकेको पनि छैन। जसका कारण थापाको सरकारप्रतिको आलोचना खाली सार्वजनिक खपतमा सीमित हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *