बिशेष

कुलमान प्रकरणमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको देखियो हैसियत

हिमालय टिभी
२०८१ चैत ११ गते २०:११
कुलमान प्रकरणमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको देखियो हैसियत

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्यो । अहिले सरकारको आलोचना भइरहेको छ, तर सरकारभन्दा पनि बढी आलोचना कांग्रेस महामन्त्रीहरुको भइरहेको छ । किनभने भित्र साथ बाहिर विरोध भन्नेहरु धेरै छन् । कांग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले दिएका प्रतिक्रियालाई नागरिकले नपत्याएकै हुन् त ?

उर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी शर्मा ओली सुरुदेखि नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने पक्षमा हुनुहुन्थ्यो । उर्जामन्त्री खड्काले त तीन पटक घिसिङसँग स्पष्टीकरण नै लिनुभयो । उहाँलाई साथ दिंदै हुनुहुन्थ्यो, प्रधानमन्त्री ओली । सरकार बनेदेखि घिसिङ हटाउनेबारे कांग्रेस महामन्त्रीहरु जानकार थिएनन् र ? कि तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु, हो त ? होइन भने गलत निर्णय भन्ने लागेको भए, कांग्रेसले उर्जामन्त्री खड्कालाई फिर्ता बोलाएको भए भइहाल्थ्यो नि । कुलमान घिसिङको बर्खास्तीपछि कांग्रेस महामन्त्री गगन थापाको यो पोष्ट हेर्नुहोस् ।

अब अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि पोष्ट हेर्नुहोस् ।

अब भन्नुहोस्, उहाँहरु पानी माथिको ओभानो बन्न खोजेको होइन त ? नभए किन पार्टीले अडान लिन सकेन । अर्को कुरा सरकार सञ्चालनका लागि बनाएको राजनीतिक संयन्त्रको सदस्य पनि थापा होइनन र ? तर, उहाँले आफ्नै पार्टीबाट बनेका मन्त्री र संयन्त्रको सदस्यको हैसियतमा प्रधानमन्त्रीलाई कुलमान हटाउने निर्णयबारे रोक्न नसक्नुको कारण के हो त ?

पक्कै पनि उर्जामन्त्री दीपक खड्काको नियुक्तीकै समयमा पनि विरोध भएको थियो। स्वार्थ बाझिने ब्यक्तिलाई मन्त्री नियुक्त गरेको भनेर त्यतिबेलै सार्वजनिकरुपमा महामन्त्री विश्वप्रकाश शर्माले विरोध गर्नुभएको थियो । तर उहाँको विरोध तँ कुटे झैं गर म रोएझै गर्छुका लागि हो भनेर कसरी पत्याउने ? नपत्याउँ पनि कसरी ? त्यसपछि उहाँको सार्वजनिक बोली फुटेकै कुलमान घिसिङको बर्खास्ती पछि हो ।

सरकार सञ्चालनमा सहयोग गर्दै आउनुभएका महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई खड्कासँग स्पष्टीकरण सोध्नुपर्ने माग पनि गर्नुभएको थियो ।

अब हेरौं उर्जामन्त्री खड्काको अनगिन्ती काण्ड

यसबीचमा काँग्रेसबाट मन्त्री बनेका दीपक खड्कामाथि विभिन्न आरोप लाग्यो ।

उनीमाथिका आरोपहरु

१, नेपाली काँग्रेसका जिम्मेवार नेता र साँसद भएपनि आफ्नो होटलका बिषयमा बहालवाला मन्त्रीलाई मन्त्रालयमै गएर गुण्डाको शैलीमा हप्काए ।

२,स्काउटको जग्गाको भाडा लामो समयसम्म तिरेनन् । तिर्न आनाकानीमात्र गरेनन् , भाडा छुट गराउन लबिङ गरे ।

३, मन्त्रालयको ठेक्कापट्टामा उहाँको हस्तक्षेप यति चरम रह्यो कि प्रतिस्पर्धामा रहेका कम्पनीहरूलाई कार्यकक्षमै बोलाएर ‘सेटिङ’ मिलाएको खबर बाहिरियो। १५–१५ करोडको चेक मन्त्रालयमै बाँडिएको समाचार सार्वजनिक भएपछि हंगामा मच्चियो। अनि, मन्त्रीज्यूले झटपट पत्रकार सम्मेलन गर्दै खबरलाई ‘झूटो’ भन्नुपर्ने बाध्यता भयो।

४, आफ्नो मन्त्रालय अन्तर्गतको उपसमितिको बैठक आफ्नै लगानीको होटलमा गर्न लगाएर स्वार्थ बाझिने काम गरे ।

र, अन्तत, नेपाली जनतालाई लोडसेडिङ मुक्त बनाएको जस पाइरहेका विद्युत प्राधिकरणका कुलमान घिसिङलाई हटाउने खलनायकको आरोप पनि उनै खड्का माथि लाग्यो । कुलमानलाई हटाउनु किन परेको त? विवादीत मन्त्री खड्काकै मुखारविन्दबाट सुनौं ।
कुलमानलाई हटाउनु ठीक थियो कि थिएन ? त्यो अर्को पाटो भयो । तर काँग्रेसका युवा महामन्त्रीहरु सामाजिक संजालमा घिसिङ हटाउन हुँदैन भनेर लाइक र कमेन्टमा मख्ख पर्ने अनि पार्टी बैठकमा गएर मुखमा दही जमाएर बस्ने ? प्रश्न उठ्छ, काँग्रेसका युवा,

बोलक्कड, शक्तिशाली र सेलिब्रेटी महामन्त्रीज्यूहरु ।

(मन्त्रीमाथि लागेका तमाम आरोपको खण्डन गर्न सक्नुहुन्छ ? पार्टी बैठकमा बोल्न सक्नुहुन्छ ? खड्कालाई फिर्ता बोलाउने निर्णय गर्न सक्नुहुन्छ ? कि पार्टी बैठकमा सभापतिको दाँया र बाँया बसेर १५ औं महाधिवेशनमा मिल्ने पदको आशामा मुख मिठ्याइरहनु हुन्छ ?)

सामाजिक सन्जालमा लेख्ने त आम नागरिकले हो । बोल्ने र बोली नसुनिनेले भँडास पोख्ने हो सामाजिक संजालमा । सरकार संचालनको संयन्त्रमा बस्ने अनि सरकारी निर्णयको बिरुद्ध फेसबुक रंग्याउँदा अर्को बैठकमा के भनेर मुख देखाउने ? कि तपाईहरुलाई सेलिब्रेटी महामन्त्री र भाइरल नेतामात्र बन्न पाए पुग्छ ? तपाइहरुसँग नेपाली जनताले त्यो भन्दा बढी आशा गरेका छन् भन्ने चाहिँ पक्कै ख्याल गर्नुभएको होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *