भोलिबाट अवकाशमा जाँदै आईजीपी कुँवर

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर भोलिदेखि अवकाशमा जाँदै हुनुहुन्छ ।
महानिरीक्षकलाई एक महिनाअघि नै घर बिदा दिनुपर्ने सरकारले महानिरीक्षकको अवकाश हुन एक दिन बाँकी रहँदासमेत न त नयाँ महानिरीक्षक नियुक्त गरेको छ, न त कसैलाई कार्यवाहक तोक्ने तयारी नै गरिरहेको छ । यसले देशको आन्तरिक सुरक्षा र अपराध नियन्त्रणको जिम्मा पाएको संगठनप्रति सरकारको चरम लापरबाही र बेवास्ता देखाउँछ भने महानिरीक्षकको अवकाश त निरश बनाइदिएको छ ।
सोमबार अर्थात् चैत ४ गते नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कार्यकाल सकिँदैछ । अवकाशमा जानुभन्दा एक महिना अघि नै विदामा बसेर नयाँ आउने नेतृत्वलाई संगठन बारे बुझ्न निमित्त दिने परम्परा छ। तर त्यो परम्परा तोडेको सरकारले सम्भवतः कुँवरको बिदाइ भएकै दिन नयाँ आइजीपी बनाउने तयारी गरिरहेको छ । चरम राजनीतिक दाउपेच र सौदाबाजीका कारण नै प्रहरीको नयाँ नेतृत्वबारे अहिलेसम्म कुनै ठोस कुरा सार्वजनिक हुन नसकेको आमरुपमा विदितै छ ।
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ ।
(३१औं प्रहरी महानिरीक्षकका लागि अहिले तीन एआइजी दीपक थापा, सुदीप गिरी र टेकहादुर तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।) सरकारले अन्तिम समयसम्म पनि कसैलाई जिम्मेवारी नदिएकै कारण प्रतिस्पर्धीहरु शक्ति केन्द्र धाइरहेका छन् । थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवा प्रवेश गरेका अधिकारीहरू हुन्।
प्रहरी नियमावली अनुसार सेवा अवधिको ३० वर्षे समय पूरा गरी प्रहरी महानिरीक्षक कुँवर साेमबार अवकाशमा जान लाग्नुभएको हो ।
(कुँवरले २०५१ चैत ५ गते निरीक्षक पदबाट प्रहरीको जागिर सुरु गर्नुभएको थियो । २०६३ भदौ ८ गते डीएसपीमा बढुवा हुनुभएका कुँवर २०७१ फागुन १० गते एसपीमा बढुवा हुनुभयाे । उहाँ २०७५ फागुन ६ गते एसएसपीमा र २०७९ असारमा डीआईजीमा बढुवा हुनुभयो । त्यसको नौ महिनापछि चैत ६ मा एआईजीमा बढुवा भएका कुँवरले त्यसको ६ दिनमा प्रहरी प्रमुख जिम्मेवारी पाउनुभएको थियो ।)
औसत कार्यकाल
प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता कुँवर विवादरहित बन्न सक्नुभएन । योबीचमा उहाँले कार्यकालका हिसाबले ४ र संख्याका हिसाबले तीन गृहमन्त्रीसँग काम गर्नुभयो । तर सबै गृहमन्त्री उहाँमाथि अनपेक्षित हाबी बने । उहाँलाई गृहमन्त्रीहरुकै निर्देशन अनुसार मात्र चलेकाे आराेप लाग्याे। उहाँ विदेश भ्रमणमा रहँदा गृहमन्त्रीले प्रहरी अधिकारीहरुकाे सरुवा/बढुवा गरेर निरिह बनाइदिए ।
सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेबारे उहाँ संसदीय समितिमै गएर संलग्नता नदेखिएको भनेर बोल्नुभयो । तर पछि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न निर्देशन दियो । पछि उहाँकै नेतृत्वको प्रहरीले लामिछानेविरुद्ध पक्राउ पूर्जी लियो, पक्राउ गर्योद, हिरासतमा राखेर अनुसन्धान गर्यो ।
कुँवर राजनीतिक चालबाजीको शिकार बन्नुभयाे । राजनीतिक दबाब तीब्र रहँदा आफ्नै संगठनका सदस्यहरुप्रति अडिग रहन नसकेकाे उहाँलाई आराेप लाग्याे । कहिले एआइजी किरण बज्राचार्य त कहिले श्याम ज्ञवालीलाई राजनीतिक नेतृत्वले तर्साउने काम गर्यो। सिआइबीमा रहदाँ सुन तस्करीको प्रमाण नष्ट गर्ने काम ज्ञवाली र बज्रचार्य गरेको भन्दै छानबीन गर्ने लगाईयो । तर प्रमाण हात परेन । उहाँ खासै ठूलाे आर्थिक लेनदेनमा जाेडिनुभएन, स्वच्छ नै देखिनुभयाे।
(उहाँकाे कार्यकालमा भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा, सुन तस्करी, सहकारी प्रकरणकाे छानबिन प्रक्रिया अघि बढ्याे । उहाँकै कार्यकालमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वमन्त्री टाेपबहादुर रायमाझी लगायत पक्राउ परे ।)
कांग्रेस, एमालेले पनि कुँवरलाई नजिक ठानेन् भने रवि लामिछानेले उपयाेग मात्र गरे । उता, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि उहाँभन्दा तल्ला अफिसर प्रयाेग गरेर असफल बनाउन खाेजे । कुँवर आफैंले मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल अनुचित लेनदेनमा संलग्न भएको आरोप लगाउनुभयो । पछि राजनीतिक दबाबमा पाेखरेलविरुद्ध कुनै छानबिन भएन । समग्रमा उहाँकाे कार्यकाल औसत नै रह्याे ।
कुँवरका लागि उहाँको कार्यकाल अवसरको लागि हेरिएको थियो । सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणर्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण र सहकारी घोटला प्रकरण उहाँकै कार्यकालमा निस्किएका प्रकरण थिए । तर ती प्रकरणको अनुसन्धानमै कुँवरको भूमिका फितलो बन्यो । जे होस् ३० वर्षे प्रहरी सेवा बिताएर जाँदै गर्दा कुँवर जसरी औसत देखिनुभयो, त्यसैगरी सरकारको भूमिकासमेत प्रहरीप्रति असहयोगी रहिरह्यो । स्वतन्त्र प्रहरी बन्न सरकारले पनि दिएन । यसको प्रमाण अहिलेसम्म नयाँ आइजीपीबारे अन्योल जारीरहनु पनि हो ।
प्रतिक्रिया