पूर्वराजाको बफादार बन्ने होड, प्रसाईँ भन्छन्- लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे

काठमाडौं : विवादित पृष्ठभूमिका व्यवसायी दुर्गा प्रसाईंले राजावादी दलहरुलाई खिस्रक्क पारिदिनुभएको छ ।
प्रसाईंको साथ लिन खोज्दा पछुताउनेहरुको लाइन बढ्दो छ । अब यही लाइनमा मिसिएका छन्, राजवादी दलहरु राप्रपा र राप्रपा नेपाल ।
पछिल्लोपटक दरबारमार्गमा प्रसाईंसँग हात मिलाएर खिसिक्क हाँस्नुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि प्रसाईंले पछिल्लो अभिव्यक्तिमार्फत् खिस्रिक्क पारिदिनुभएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरेका राजावादी दल र राजा समर्थक समूहका नेता दुर्गा प्रसाईं जस लिने होडमा हिलो छ्यापाछ्यापमा उत्रिएका छन् ।
आइतबार आयोजित स्वागत र्यालीमा कसले मान्छे बोलायो भन्ने विषयमा उनीहरु आपसमै विभाजित मात्र भएका छैनन्, सह–अस्तित्व स्वीकार नै नगर्ने अवस्थामा पुगेका छन् ।
सबैभन्दा चर्को आवाजसहित आफूलाई जसको पहिलो भागीदार दाबी गरिरहनु भएको छ, विवादित व्यवसायी दुर्गा प्रसाईंले । प्रसाईंले आफ्नै निवासमा केही सञ्चारमाध्यमलाई बोलाएर भनिदिनुभयो, राप्रपा, राप्रपा नेपालहरु मैले गरेको प्रदर्शनमा ढोक्सा थाप्न आइपुगे ।
प्रसाईंले त राजतन्त्रको अन्त्य हुनुको कारक नै राजावादी दलहरु भएको आरोप लगाइदिनुभएको छ । दुर्गा प्रसाईको प्रश्न छ, गणतन्त्रको भोज खाने अनि माहोल बनेपछि ढोक्सा थाप्ने रु प्रसाईंको अभिव्यक्तिले राजावादी दलहरुलाई खिस्रिक्क पारिदिएको छ । अब पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम हामीले गरेका हौँ भन्ने दाबी गर्न राप्रपासँग एउटै प्रमाण छ, त्यो हो र्यारलीका क्रममा फोहोर गरेपछि काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना रुपैयाँ तिरेको चिर्कटो ।
त्यसो त प्रसाईंको साथ लिन खोज्दा विगतदेखि नै पछुताउनेहरुको लाइन ठूलै छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै समय पार्टी मिलाउने प्रयोजनमा दुर्गा प्रसाईंको घरमा मार्सीको भात खाएर अझैसम्म बद्नाम छन् । एक छाक भातको बदलामा कयौँपटक प्रसाईंको प्रहार सुनिरहेका छन् ।
तथापी दुर्गा प्रसाईंसँग भीड भने अवश्य छ । गत वर्षको मंसिरमा प्रसाईं एक्लैले काठमाडौंमा ठूलै भीड ल्याउनुभएको थियो । झापामा पूर्वराजा ज्ञानेन्द्रलाई लगेर कार्यक्रम गर्नेदेखि महाअभियानका नाममा ठाउँठाउँमा मान्छे भेला गर्ने सामथ्र्य प्रसाईमा देखिन्छ ।
ऋण मोचन गराउने प्रलोभन देखाएर बैंक, लघुवित्तसहितका वित्तिय संस्थाका ऋणीहरुलाई आफ्नो पछाडि उभ्याउन सफल प्रसाईं कहिले सहकारी पीडितको घाउमा मल्हम लगाउन त कहिले विदेशमा संकटमा परेकाहरुलाई राहत दिने आफू सक्रिय रहेको प्रचारमा हुनुहुन्छ । मुलधारप्रति बढ्दै गएको निराशा र बेरोजगारी समस्यामा खेलेर प्रसाईंले आफ्नो माहोल बनाइरहनुभएको छ । प्रसाईंको यही माहोललाई सदुपयोग गर्ने लोभ राजावादी दलहरुमा पनि केही हदसम्म पक्कै पलाएकै हो । जसका कारण प्रसाईंबाट फेरि एकपटक राजावादीहरुसमेत हिस्स बनेका छन् ।
प्रतिक्रिया