परराष्ट्रमन्त्री आरजु राणाको विना बोलावट भारत भ्रमण !

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबारदेखि भारतको यात्रामा हुनुहुन्छ । अहिले उहाँ तीर्थयात्रीको रुपमा भारत पुग्नुभएको हो ।
तीर्थयात्रापछि उहाँले भारतीय विदेशमन्त्रालयको सहकार्यमा अभर्जवर रिसर्च फाउण्डेसन ओआरएफले आयोजना गर्ने रायसिना डाइलगमा भाग लिने परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ । मार्च १७ देखि १९ सम्म चल्ने डाइलगमा परराष्ट्रमन्त्रीले भाग लिने भनेपनि ओआरएफले सार्वजनिक गरेको वक्ता र सहभागी प्रतिनिधिको सूचिमा उहाँको नाम छैन । के परराष्ट्रमन्त्री राणा सम्मानजनक निम्ताविना नै त्यहाँ पुग्दै हुनुहुन्छ ?
परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको झारखण्डमा रहेको बाबा बैधनाथ धाममा पूजा–आजा गर्ने कार्यक्रम रहेको उल्लेख गरिएकाे छ । विज्ञप्तीमै धार्मिक यात्रापछि उहाँ मार्च १७ देखि १९ सम्म दिल्लीमा चल्ने रायसिना डाइलगमा भाग लिने र सम्बोधन गर्ने कार्यसूचि रहेको भनिएको छ ।
रायसिना डाइलग सन् २०१६ देखि प्रत्येक वर्ष चल्दै आएको छ । भारतीय विदेश मन्त्रालयको सहकार्यमा अभर्जवर रिसर्च फाउण्डेसन ओआरएफले आयोजना गर्ने यो कार्यक्रममा नेपालले पनि हरेक वर्ष भाग लिने गरेको छ । तर, यसपटक २०२५ को रायसिना डाइलगमा ओआरएफले आफ्नो वेवसाइटमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने वा प्रतिनिधिकारुपमा भाग लिने उल्लेख गरेको छैन । अर्थात उहाँको नाम देखिदैन ।
किन त ? के परराष्ट्रमन्त्री राणा विना निम्ता रायसिना डाइलगमा भाग लिन जान लाग्नुभएको हो त ? परराष्ट्रमन्त्रालय भन्छ, निम्ता आएको छ । सम्बोधन गर्नका लागि नै बोलाइएको हो, त्यसैले मन्त्री राणाको दिल्लीको कार्यक्रम तय भएको हो । हामीले ओआरएफमा परराष्ट्रमन्त्री राणाको सूचि नभेटेकोबारे जिज्ञासा राख्यौं, मन्त्रीको सचिवालयले पनि सम्बोधन गर्नकै लागि बोलाइएको हो, किन वेभसाइटमा राखेन, त्यसबारे जानकारी नभएको तर, औपचारिक निम्ता आएकै हो भनेको छ ।
भारतीय पक्षले पनि परराष्ट्रमन्त्री राणालाई निम्ता रहेको पुष्टि गरेको छ । २०२४ मा भएको रायसिना डाइलगमा नेपालकातर्फबाट तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले भाग लिनुभएको थियो । त्यही वक्ताका रुपमा सांसद स्वर्णिम वाग्ले पनि सहभागी हुनुभएको थियो । यसपटक राणाले भाग लिदै हुनुहुन्छ । यो कार्यक्रममा भाग लिने बाहेक परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको प्रयास गर्नुभएको छ ।
विभिन्न कुटनीतिक च्यानलमार्फत मोदीसँगको भेटको प्रयास भइरहेको बुझिएको छ । त्यस बाहेक भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गर्ने परराष्ट्रमन्त्री राणाको कार्यतालिका रहेको बुझिएको छ । पछिल्लो पटक वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग भारत रुष्ट रहँदै आएको छ ।
अहिलेसम्म ओलीलाई भारत ननिम्त्याएर सम्बन्ध चिसिएको संकेत गरिदिएको छ । त्यो फुकाउन परराष्ट्रमन्त्री राणाको निरन्तर प्रयास जारी छ । गएको भदौमा भारतमा रेडकार्पेट पाएकी मन्त्री राणा दोस्रोपटक युरोप भ्रमणबाट पुस ४ दिल्ली पुग्नुभएको थियो । त्यसबेला उहाँलाई भारतका कुनै पनि अधिकारीले भेट दिएनन् । यसपटकको प्रयासले कस्तो परिणाम ल्याउने हो, त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया