राजनीति

राजतन्त्रबारे रास्वपा के हो नीति ?

हिमालय टिभी
२०८१ फागुन २७ गते २०:२२
राजतन्त्रबारे रास्वपा के हो नीति ?

काठमाडौं : संसदको चौथो ठूलो दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी । सदन र सडकमा राजावादी र गणतन्त्र पक्षधरबीच बहस चर्किएका बेला रास्वपाले मुख खोलिसकेको छैन । पूर्वमहामन्त्री मुकुल ढकालले सभापति लामिछानेको गणतन्त्र प्रतिको प्रतिवद्वता र ओली-देउवासँग नयाँ सम्झौता गरेको आरोपसहित नियतमाथि प्रश्न उठाइरहे पनि रास्वपा आश्चर्यजनक मौनतामा छ । र अहिले गणतन्त्रवादी दलहरुले साथ खोजिरहँदा रास्वपा कुन कित्तामा कसरी उभिनेहो प्रष्ट संकेत समेत देखिएको छैन ।

आफ्नो पार्टीको आधिकारीक धारणा केहो ? यसको जवाफ उहाँसँग पनि छैन । जता भिड उतै रवि । यो उहाँको पुरानै फर्मुला हो । र त राजा फर्काउन भन्दै राप्रपासहितका दलको अगुवाइमा चलिरहेको आन्दोलनका विषयमा सरकारले जवाफ दिनुपर्ने तर्क गर्दै लामिछाने आफ्नो बोल्ने बेला नभएको बताउनुहुन्छ ।

अनि यो स्टाटस हेरौं। रास्वपाका पूर्वमहामन्त्री एवं लामिछानेको भित्री कुराको जानकार मुकुल ढकालको यो पाेष्ट । लामिछाने र पूर्वराजाबारे ढकालले सोमबार र मंगलबार दुई स्टाटस लेख्नुभएको छ । र मंगलबार उहाँले लामिछानेको पूर्वराजासँगको छलफलबारे खुलासा नै गर्नुभएको छ ।

(राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि “राजतन्त्र” को लाइन लिने कि “गणतन्त्र” को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागी कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ-चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।)

त्यतिबेला मैले रवि दाइलाई भने, “राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ‘म आउने हो’ भन्न पर्यो नि ।” राजा बोल्न तयार भएनन् , तर त्यसपछी पनि रवि दाइले “राजतन्त्र” लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नु भयो । मैले प्रस्ताव राखे, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नु भयो । मेरो प्रस्ताव थियो – “राजाको नीजि सम्पत्ति नहुने , जनताले राजालाई पाल्ने , राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक-एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।” राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछी, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।)

ढकालले सोमबार लेखेको स्टाटसमा चाँही राजतन्त्र पक्षधरलाई आफुसँग तान्ने र आन्दोलन कमजोर पारेबापत लामिछानेको मुद्दा कमजोर पार्नेगरी प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भित्री रुपमा सम्झौता गरेको आरोप लगाउनुभयो । ढकालले लामिछाने पनि रविन्द्र मिश्र जस्तै राजावादी बनिसकेको आरोप पनि लगाउनुभएको थियो ।

ढकालले लगाएको यो आरोपबारे रास्वपाले एक सातापछि मात्रै धारणा तय गर्ने भएको छ । सांसद समेत रहेका केन्द्रीय सदस्य हरि ढकालले गणतन्त्रको विकल्प नरहेको तर राजावादीको प्रदर्शनमा गएकाहरुको पनि भावना बुझ्नुपर्ने तर्क गर्दै एक सातापछि पार्टीको आधिकारीक धारणा आउने दाबी गर्नुभएको छ ।

०६२/०६३ को जनआन्दोलन र तत्कालिन माओवादीको सशस्त्र युद्ध तथा १२ बुँदे समझदारीका आधारमा जनताको मतबाट गठित संविधानसभाले निर्माण गरेको संविधान मार्फत् गठित संसदको चौथौ ठुलो दल व्यवस्थामाथि नै प्रश्न उठिरहँदा मौन रहनु दुखद् हो । रास्वपाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप शक्तिशाली बनाउन अडान लिनुपर्नेमा मौन बस्न खोजेको हो कि भन्ने अवस्थाको अन्त्यका लागि किन पहल नगरेको ? के पूर्व महामन्त्रीले लगाएका दुई आरोप जस्तै जता मल्को उतै ढल्कोको नीतिमा छ त रास्वपा ? प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *