बिशेष

एमालेमा ओलीवाद : भक्ति गान गाए अवसर नै अवसर

हिमालय टिभी
२०८१ फागुन २३ गते १८:३८
एमालेमा ओलीवाद : भक्ति गान गाए अवसर नै अवसर

काठमाडौं : एमालेभित्र होस्, सरकारमा होस् या राजनीतिक नियुक्तिमा किन नहोस् ।

घुमिफिरी अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रहरूकै पोल्टामा पद पर्छ। मन्त्री बन्ने, सल्लाहकार हुने, राजदूत बन्ने, संसद छिर्ने सबैमा केही सीमित नामको फेरो छ। ओलीले भीम रावललाई कुनै समय पदबिना बस्न नसक्ने भनेर तिखो आलोचना गर्नुभएको थियो । तर आफ्ना नजिककाहरूलाई भने पटकपटक पद बाँडिरहनुभएको छ। पार्टीका भजनमण्डलीमा पर्नेहरू निरन्तर अवसर पाउँदै आएका छन्। अरू योग्य कार्यकर्ता हेरेको हेर्‍यै । एमालेभित्र यो असन्तोष चुलिंदै छ, तर खुलेर बोल्ने हिम्मत भने कसैसँग छैन। किनभने यहाँ ओलीको वरिपरि हुनेहरू मात्रै टिक्छन्, अरूचाहिँ बिस्तारै ओझेल पर्छन्।

एमालेमा अवसरको कुरा गर्दा गज्जबकै सिन्डिकेट चलेको छ । पार्टी होस्, सरकार होस् या राजनीतिक नियुक्ति, घुमिफिरी उही १०-१५ जना मान्छेले मात्रै च्यापिराखेका छन् । अरू योग्य, सक्षम कार्यकर्ता भने कुन जुनीमा पालो आउला भनेर हेर्दै बस्नुपरेको छ । अनि, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जब भीम रावलजस्ता नेताले अवसरको कुरा उठाउँछन्, तब उहाँको जवाफ हुन्छ— पदबिना बस्न नसक्ने! तर, ओलीले आफ्ना प्रिय पात्रलाई भने जति पटक पनि अवसर दिन तयार हुनुहुन्छ । ओलीको वरपर घुम्ने, ओलीको भजन गाउने अनि ‘बा’ भनेर हिँड्नेहरूले नै पालैपालो पद पाउने एमालेको पुरानै चलन हो ।

ओलीका प्रिय पात्रहरू र उनीहरूको ‘अवसर यात्रा’

१) अग्नी खरेल – ओलीका कानुनी हतियार

एमालेमा कानुनी कुराको खेल चल्दा अग्नी खरेल नै अगाडि आउँछन् ।
– २०८१ फागुन – प्रधानमन्त्रीको विज्ञ सल्लाहकार
– २०७४ फागुन – महान्यायाधिवक्ता
– २०६३ – अन्तरिम संविधान मस्यौदा समितिका सदस्य
– २०७२ – कानून मन्त्री
२) युवराज खतिवडा – नामै काफी छ !

एमालेमा अवसर खोज्ने हो भने युवराज खतिवडालाई सोध्नुपर्छ ! किनभने उनी कहिल्यै फुर्सदमा बस्नुपरेन ।
– २०५८-२०६१ – राष्ट्रिय योजना आयोग सदस्य
– २०६६ – योजना आयोग उपाध्यक्ष
– २०६६ – नेपाल राष्ट्र बैंक गभर्नर
– २०७४-२०७६ – अर्थमन्त्री (दुई पटक)
– २०७७ – प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार
– २०८१ – प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार

३) अञ्जान शाक्य – संगीतबाट राजनीति

पत्रकारिता र संगीतबाट राजनीतिक नियुक्ति पाउने अञ्जान शाक्य एमालेमा ओलीकी प्रिय पात्रमध्ये एक हुन् ।
– २०७५ – इजरायलका लागि नेपाली राजदूत
– २०८१ – राष्ट्रियसभा सदस्य
४) महासेठ दम्पती – ओलीका प्रिय जोडी
– रघुवीर महासेठ – उपप्रधानमन्त्री एवं मन्त्री
– जुलीकुमारी महासेठ – टिकट वितरणमा हस्तक्षेप गर्ने प्रभावशाली नेता

५) विष्णु पौडेल – बारम्बार अर्थमन्त्री

एमालेमा अर्थ मन्त्रालय भनेको विष्णु पौडेलको निजी सम्पत्ति जस्तै भइसक्यो ।
– ८ पटक मन्त्री, ५ पटक अर्थमन्त्री
– २०७२ देखि हरेक एमाले सरकारमा अनिवार्य मन्त्री

६) सुशील ज्ञवाली – ओलीका मनपर्ने प्रशासक
– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ (दुई पटक)
– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत

७) रमेश बडाल – महान्यायाधिवक्ता जहिल्यै !
– २०८१ – महान्यायाधिवक्ता
– २०७७ – महान्यायाधिवक्ता (पहिले पनि)

८) सुनिता बराल – सांसददेखि सचेतकसम्म
– अनेरास्ववियु अध्यक्ष
– सांसद
– एमाले सचेतक

९) विष्णु रिमाल – सधैं ओलीको छायाँ
– सधैं प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार
– २०६४ – समानुपातिक सांसद
– २०७८ – एमाले उपमहासचिव

किन एमालेभित्रै पनि उही मान्छेहरू बारम्बार पदमा पुग्छन्? के अरू कोही छैनन् ? यसको मुख्य कारण हो— ओलीवाद । पार्टीभित्र ओलीको वरिपरि रहने, उहाँसँग घुलमिल हुने, आलोचना नगर्ने, भजन गाउनेहरूलाई मात्र अवसर मिल्ने परिपाटी बनेको छ । जसले नेतृत्वलाई प्रश्न गर्छ, ऊ घोक्रो सुक्नेगरी कुर्सी कुर्नुपर्छ ।

भीम रावल, घनश्याम भुसाल, जस्ता नेताहरू किन बाहिरिए ? किनभने उनीहरूले पार्टीभित्र व्याप्त अवसरवादी प्रवृत्तिको विरोध गरे । तर, ओलीकै टिमका खरेल, खतिवडा, महासेठ, ज्ञवाली, रिमाल जस्ता पात्रहरू भने “तिमी नभए पार्टी नै चल्दैन” भन्ने शैलीमा बारम्बार नियुक्त भइरहन्छन् । तर, समय सधैं एउटै रहँदैन । नयाँ पुस्ता यो ‘ओलीवाद’ लाई कहिलेसम्म स्वीकार गर्छ? यो प्रश्नको जवाफ ओलीलाई चित्त बुझाउनेहरूको मुखबाट होइन, आम कार्यकर्ताहरूको मनबाट आउनुपर्ने समय आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *