सुरु भयो भर्ना आतंक, कक्षा एकका लागि २ लाख भन्दा धेरै तिर्नुपर्ने !

काठमाडौं : साल २०८१, महिना फागुन ! नयाँ शैक्षिक सत्र त अझै सुरु भएको छैन । तर काठमाडौंका ठूला र चर्चित विद्यालयहरू भने पहिले नै भर्ना शुल्क असुल्न दौडिसकेका छन्। चैत मसान्तमा मात्रै भर्ना खुल्नुपर्ने हो, तर होइन! स्कुलले अभिभावकको गोजी खाली गर्ने सिजन सुरु भइसकेको छ। मनपरी शुल्क, अनियन्त्रित मासिक खर्च, अनि छुट्टै गाडी भाडा – सबैको सूची अभिभावकको हातमा पुगिसकेको छ। अब भन्नोस्, यो शिक्षा हो कि व्यापार ?
बच्चालाई राम्रो स्कुलमा पढाउने सपना त सबै अभिभावकको हुन्छ। तर अहिलेको अवस्था हेर्नोस् त, स्कुल भर्ना नै एउटा ‘लक्जरीु बनेको छ। अझै शैक्षिक सत्र सुरु हुन दुई महिना बाँकी छ, कक्षा १ मा भर्ना खुलेको छ, अनि अभिभावकलाई मनपरी शुल्कको भारी बोकाउन थालिएको छ।
नाम चलेका स्कुलको कक्षा १ मा भर्ना शुल्क कति ?
– युलेन्स स्कुलको भर्ना शुल्क—२ लाख २५ हजार, मासिक शुल्क—५८ हजार!
– रातो बंगला—१ लाख २५ हजार भर्ना शुल्क, मासिक ५५ हजार भन्दा माथि!
– प्रिमियम स्कुल—१ लाख ५० हजार भर्ना, मासिक ५५ हजार अनि गाडी भाडा ५ हजार अलग!
– मोडर्न इन्डियन स्कुल—भर्ना १ लाख ५१ हजार ५ सय, मासिक ११ हजार, खाजा र गाडी भाडा अलग!
– पाठशाला—भर्ना १ लाखभन्दा माथि, मासिक २५ हजार!
– अक्षरा स्कुल—भर्ना १ लाख ४६ हजार, मासिक ३० हजार भन्दा बढी!
अब भन्नोस्, यो शुल्क गुणस्तर शिक्षा को हो कि अभिभावक रित्याउने योजना ?
नेपालको संविधानले शिक्षालाई मौलिक अधिकार भनेको छ। तर यो अधिकार त कागजमै सीमित छ। निजी स्कुलले त शिक्षालाई बजार बनाएर करोडौं कमाइरहेका छन्। अभिभावक कति रोयो, कति ऋण खोज्यो, कसरी तिर्छ—स्कुललाई मतलब छैन! गृहमन्त्री रमेश लेखक एनप्याब्सन निजी विद्यालयको संगठनको कार्यक्रममा गएर ‘भर्ना शुल्क धेरै नलिनू’ भनेर निर्देशन दिँदै हुनुहुन्थ्यो । अनि त्यहाँ के भयो ? थपडी बज्यो, ताली गडगडायो। स्कुलवालाहरूले ‘ल’ भने, मन्त्रीज्यूले ‘ठीक छ’ भन्नुभयो।
सरकारले शिक्षा ऐनअनुसार भर्ना शुल्कको सीमा तोक्नै पर्छ। स्कुलहरूले कस्तो सेवा दिँदै छन् भनेर कडाइका साथ अनुगमन गर्नुपर्छ। अभिभावकहरू पनि संघर्ष गर्नुपर्छ, सामाजिक सञ्जालमा आवाज उठाउनु पर्छ। नत्र भोलि स्कुलमा बच्चा होइन, करोडपति मात्र भर्ना हुनेछन्। अनि बाँकीले शिक्षा त के, सपना देख्नसमेत छोड्नुपर्ने दिन आउला !
प्रतिक्रिया