Main News

बालेनको अराजकताबाट आजित सुनिता : भन्छिन्- पहिले आफ्नो कर्तव्य पूरा गरौं

हिमालय टिभी
२०८१ फागुन १८ गते १७:२४
बालेनको अराजकताबाट आजित सुनिता : भन्छिन्- पहिले आफ्नो कर्तव्य पूरा गरौं

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोपित गरेपछि उपमेयर सुनिता डंगोलले त्यसको जवाफ फर्काउनुभएको छ ।
मेयर बालेनले तारन्तार संघीय सरकार र त्यसमा पनि एमाले लक्षित आरोप लगाउँदा यदाकदा जवाफ फर्काउने उपमेयर डंगोलले यसपटक बालेनलाई पहिले आफ्नो आङको जुम्रा हेर्न सुझाव दिनुभएको हो । बालेन शाह आफ्नो भूमिकाबाट विचलित हुन थालेपछि उपमेयरको यस्तो खाले जवाफ आउने गरेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घोचपेच गरेर एउटा स्टाटस लेख्नुभयो । सांकेतिक शैलीमा लेखिएको यो स्टाटस काठमाडौं महानगरलाई सरकारले प्रमुख प्रशासकीय अधिकृत नदिएको विषयमा केन्द्रित थियो ।

त्यसको भोलिपल्ट उपमेयर सुनिता डंगोलले मेयर बालेनको प्रतिवाद गर्दै पुस १४ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथिको छानबिन प्रतिवेदन सार्वजनिक नगरेको तर अहिले प्रधानमन्त्री ओलीविरुद्ध टिप्पणी गरेको भन्दै आक्रोश पोख्नुभयो । ‘छानविन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारवाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’

उपमेयर डंगोलले मेयर बालेनको प्रतिवाद गर्दै भन्नुभएको छ,

‘आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरुलाई आरोप लगाउने कुरा उचित होइन ।’ अर्थात् उपमेयर सुनिताले यसपटक पनि मेयर बालेनलाई पहिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, अरुलाई मात्र आरोप लगाएर हुँदैन भन्ने सुझाव दिनुभएको छ ।

मेयर बालेनले कतिपय मुद्दामा आफूबाट भएका कमजोरीको ढाकछोपका लागि समेत अरुमाथि आरोप लगाउने गर्नुभएको छ । रिस उठेपछि सामाजिक सञ्जालमा लेखिहाल्ने, संघ सरकारलाई गाली गर्ने र नेकपा एमालेसहित अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई बढी निशाना बनाउने काम उहाँले गर्दै आउनुभएको छ ।

जतिबेला बालेन आफ्नो कर्तव्य र जिम्मेवारीबाटसमेत च्युत हुने गरी मुखरित हुन थाल्नुहुन्छ, त्यति त्यतिबेला उपमेयर डंगोल उहाँलाई साइजमा राख्न उपस्थित हुने गर्नुभएको छ । यतिबेला प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री ओलीलाई आरोपित गरेपछि सञ्चारमाध्यमहरुमार्फत् सुनिताले बालेनलाई पहिले आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिनुभएको हो ।

मेयर बालेनले संघ सरकार र नेताविरुद्ध सामाजिक सञ्जालमार्फत् विगतदेखि नै आक्रामक अभिव्यक्ति दिँदै आउनुभएको छ । सिंहदरबार जलाइदिन्छु भन्ने, नेतालाई चोर भन्ने, न्यायालयविरुद्धसमेत विष वमन गर्ने मेयर शैलीबाट आजित भएकी सुनिताले सकेसम्म अभिभावकीय भूमिका प्रतीत हुने गरी सुझाव दिँदै आएको समेत देखिन्छ । गत असारमा महानगरको नगरसभामा सुनिताले बालेनलाई यसैगरी सम्झाउनुभएको थियो ।

नेकपा एमालेको टिकटबाट महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता आफ्ना असन्तुष्टिलाई बालेनले जसरी छरपस्ट पार्नुहुन्न । मेयर बालेनकै भूमिकाबाट आजित हुँदासमेत उहाँले आफ्नो कुरा व्यवस्थित रुपमा विषयगत कार्यक्रमहरुमा राख्नुहुन्छ । मेयरका अधिकांश राम्रा काममा सहयोग नै गरिरहेकी सुनिताले कतिपय समयमा बालेनकै हो मा हो मिलाएको आरोपसमेत खेप्नुभएको छ । जसका कारण पनि उहाँले मेयरलाई संयमित हुन र सम्हालिएर बोल्न सुझाव दिँदै आएको देखिन्छ ।

यतिबेला भने मेयर आफैले प्रमुख प्रशासकीय अधिकृत गुरागाइँ नियमविपरीत काठमाडौं भ्यू टावरको नक्सा पास गरेको भन्दै बिदामा राखेको, त्यसपपछि छानबिन समिति समेत बनाएर अनुसन्धान गरेर पनि प्रतिवेदन सार्वजनिक नगरेको जस्ता तर प्रधानमन्त्री ओलीमाथि आरोप लगाउन खोजेको भन्दै उपमेयर सुनिता डंगोल केही आक्रोशित समेत देखिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *