Main News

ज्ञानेन्द्र शाहीज्यू तपाईंले चाँही कति पढेको ? अरुलाई मात्रै दोष लगाउने !

हिमालय टिभी
२०८१ फागुन १४ गते १९:४७
ज्ञानेन्द्र शाहीज्यू तपाईंले चाँही कति पढेको ? अरुलाई मात्रै दोष लगाउने !

काठमाडौं : संसदमा कुर्लिनेहरू धेरै भए, तर अध्ययन गरेर बोल्ने कमै छन् । यसको ज्वलन्त उदाहरण हुन् राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही। संसद्माे हचुवाको भरमा बोल्ने उहाँको बानी अब त चर्चाको विषय बनिसक्यो। मिडिया काउन्सिल विधेयकमा बोलेर खेद प्रस्ताव राख्ने यी माननीय मंगलबार झन् झन् हाँसोको पात्र बन्नुभयो । आमसञ्चार परिषद् विधेयकलाई नै उद्योगसँग जोडेर विरोध गर्न थालेपछि सांसदहरू अचम्म परे। नियम, ऐन, कानुन केही नबुझी संसद्मै उफ्रिने प्रवृत्तिले उहाँलाई अब ‘अनपढ सांसद’ भन्ने कि नभन्ने ?

नेपालमा एउटा प्रसिद्ध उखान छ – “आफ्नो आङको भैँसी नदेख्ने, अरुको आङको जुम्रा देख्ने।” यदि यो उखान कसैलाई जस्ताको तस्तै मिल्छ भने त्यो ज्ञानेन्द्र शाही हुन्। किनभने उहाँ आफैं अध्ययन गर्नुहुन्न, तर अरुले विधेयक अध्ययन नगरी पास गरेको भन्दै आलोचना गर्नुहुन्छ । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक पास हुँदा उहाँले बोलेको विषयले यति हंगामा मच्चायो कि राष्ट्रियसभाले खेद प्रस्ताव नै प्रकट गर्नुपर्‍यो ।

तर शाहीलाई त्यस्तो चेत कहिले आउँछ? संसदमा प्रस्तुत विधेयकको वास्तविक मर्म नबुझी, हचुवाका भरमा कुरा गर्दा संसद नै हास्यास्पद देखिन्छ। मंगलबारको संसद् बैठकमा त शाहीको अज्ञानताले सीमा नै नाघ्यो। आमसञ्चार परिषद् विधेयकमाथि छलफल भइरहेको बेला उहाँले आमसञ्चार परिषद्लाई उद्योगकै रूपमा बुझ्नुभयो । उहाँले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन विपरीत रहेको भन्दै विधेयकको विरोध जनाउनुभयो ।

तर वास्तविकता के हो? विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ३ को उपदफा २ अनुसार आमसञ्चार माध्यमहरूमा विदेशी लगानी निषेध गरिएको छ। यसमा स्पष्ट रूपमा भनिएको छ— ‘आमसञ्चारका माध्यमहरू जस्तै पत्रकारिता, रेडियो-टेलिभिजन, अनलाइन समाचार, राष्ट्रिय भाषाका चलचित्र आदिमा विदेशी लगानी ल्याउन पाइँदैन।’

तर शाहीले आमसञ्चार परिषद्को कोष व्यवस्थापनबारे उल्लेख गर्दै यसलाई ‘राष्ट्रघाती विधेयक भन्न भ्याउनुभयो । आमसञ्चार परिषद् विधेयकको दफा २५ मा परिषद्को कोषसम्बन्धी व्यवस्था छ। त्यसको उपदफा २(ख) मा भनिएको छ— ‘कुनै विदेशी सरकार, निकाय वा संस्थाबाट प्राप्त वैदेशिक अनुदानको रकम परिषद्को कोषमा रहनेछ।’

तर शाहीले यसलाई अपव्याख्या गर्दै विधेयक ल्याउनु गलत भएको तर्क गर्नुभयो । अझ संसद नै बुढाबुढीको थलो हो भन्दै उहाँले राष्ट्रियसभामाथि नै कटाक्ष गर्नुभयो ।

शाहीका यस्ता गैरजिम्मेवार अभिव्यक्तिप्रति संसदमा आपत्ति जनाइयो। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए भने एमाले सांसद रघुजी पन्तले समेत यसको विरोध गर्न खोजे। तर, सभामुखले समय दिन पाएनन्। यो प्रवृत्ति मात्र शाहीमा सीमित छैन ।
वास्तवमा, संसदमा तथ्यहीन कुरा बोल्ने संस्कृति नयाँ होइन। शाही मात्रै दोषी पनि होइन । तर शाहीले अरुलाई दोष लगाउने तर आफू अध्ययन नगर्ने दोहोरो चरित्र संसदमा झल्किएको छ। विधेयक राम्रोसँग नबुझी संसदमा हल्ला मच्चाउनु गम्भीर समस्या हो। राष्ट्रियसभा सदस्यलाई आरोप लगाउने शाहीले आफैं कहिले अध्ययन गर्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *