राजेन्द्र महतो : नेता कि उग्रवादी ?

काठमाडौं : राजनीतिमा कोही विचार बोकेर आउँछ, कोही अवसर खोजेर। तर केही यस्ता पात्र हुन्छन्, जसलाई बस लफडा चाहिन्छ। जहाँ विवाद छ, त्यहाँ पुगेकै हुन्छन्। यस्तै पात्र हुन्, राजेन्द्र महतो। मधेश आन्दोलनदेखि पहाडी मुद्दासम्म, भारतीय नाकाबन्दीको अप्रत्यक्ष समर्थनदेखि पाथीभरा केवलकार विवादसम्म, उहाँको भूमिका उस्तै छ- उग्र, उत्तेजक र विवादास्पद।
पाथीभरामा केबुलकार निर्माणलाई लिएर विवाद भइरहेको ताप्लेजुङमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको एक टोली पुगेपछि फागुन ८ गते झडप भयो । झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भए । महतो नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी नेपालले मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोध गर्न पहाड उक्लिएको हो । जहाँ झडप भयो ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने योजनाले स्थानीय तहमा विवाद चर्काइरहेको बेला सरकार वार्ता टुंग्याउने तयारीमा थियो। माहोल शान्त हुने संकेत देखिँदै थियो। तर, ठीक यही बेलामा महतोको ‘महान’ आगमन भयो। उहाँ ‘नो केवलकार’ आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ताप्लेजुङ पुग्नुभयो। र, के भयो ? तनाव बढ्यो, झडप चर्कियो, निषेधाज्ञा नै लगाउनु पर्यो् । यो संयोग मात्र हो त? होइन। महतो राजनीति चलायमान राख्न सधैं संघर्ष चाहनुहुन्छ । मधेशमा नयाँ लफडा जन्माउन नसकेपछि पहाडको विवादमा खुट्टा हाल्ने यो उहाँको ‘मास्टर स्ट्रोक’ हो। काठमाडौंका नदी किनारको बस्तीदेखि ताप्लेजुङको तनावसम्म महतो सहभागी हुनुको मक्सद नै यही हो ।
विवाद खोज्दै हिँड्ने नेता
राजेन्द्र महतो ती नेताहरूमा पर्नुहुन्छ, जसलाई राजनीति सिद्धान्तमा चलाउनु छैन। उहाँ लड्न चाहनुहुन्छ, भीड चाहनुहुन्छ अनि नारा चाहनुहुन्छ २०६३ को अन्तरिम संविधान लेख्दाखेरि संघीयता उल्लेख नगर्ने सरकारमै उहाँ हुनुहुन्थ्यो । पछि संघीयताको लागि कडा आन्दोलनको नारा दिनुभयो । मधेश आन्दोलनमा उपेन्द्र यादव अघि लाग्दा, पछि उहाँलाई उछिनेर आफूलाई ठूलो नेता बनाउन खोज्नुभएको जगजाहेर छ ।
२०७२ को टीकापुर घटनाका बेला महतोले दिएको ‘डोको बोकाएर पहाड पठाउने’ अभिव्यक्ति कति घातक थियो, त्यो इतिहासले बताइसक्यो। यसै कारण उहाँलाई साम्प्रदायिक द्वन्द्व भड्काउने व्यक्तिका रूपमा पनि लिने गरिन्छ । २०७२ सालमै संविधान जारी गर्नेताका आन्दोलनरत अवस्थामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वार्ताका लागि बालुवाटार गएको थियो । त्यहाँ महतोले झापासहित २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउनु पर्ने माग गर्नुभयो । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रोशित भएर ‘समथल भूभाग देख्नै नहुने, त्यसो भए मधेसलाई बिहारमा मिलाउँदा भइहाल्यो नि’ भन्ने टिप्पणी गर्नुभएको थियो । बैठकमा रहेका तत्कालीन मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले बालुवाटार बैठक छाडेर निस्केका थिए ।
त्यो घटनापछि यादव र ठाकुर चुप लागे पनि महतोका कार्यकर्ताले काठमाडौँमै ओलीको पुतला जलाएर विरोध गरेका थिए । त्यतिमात्र होइन, महतोले काठमाडौंसँग कुनै सम्बन्ध नरहेको भन्दै आफ्नो पार्टी कार्यालय पनि वीरगञ्ज सार्नुभयो ।
नेता कि उग्रवादी?
महतो मधेशकेन्द्रित नेताका रूपमा चिनिए पनि, अहिले उहाँलाई ‘राष्ट्रिय नेता’ बन्ने मोह जागेको छ। त्यसैले उहाँ काठमाडौंका नदी किनारका बस्तीको मुद्दा उठाउनुहुन्छ, पहिचानको आन्दोलनका कुरा गर्नुहुन्छ र अहिले पहाडमा उफ्रिरहनुभएको छ । मधेशबाट चुनाव हारेपछि उहाँले लोसपाबाट अलग भएर राष्ट्रिय मुक्ति पार्टी नेपाल खोल्नुभयो । नाम ठूलो भएपनि उहाँको रणनीति भने जातीय आन्दोलन चर्काउने नै हो, उहाँकाे इतिहासले त्यही भन्छ ।
महतोको राजनीति : अस्तित्वको संघर्ष कि आत्मप्रचार ?
महतोको राजनीतिक यात्रामा दुई पक्ष देखिन्छ- एक, मधेश आन्दोलनबाट उठेको नेता, जसले उत्पीडित वर्गको पक्षमा आवाज उठायो। दोस्रो, जुनसुकै ठाउँमा, जुनसुकै मुद्दा उठाएर आफूलाई चर्चामा ल्याउने नेता। अहिले उहाँ दोस्रो रूपमै बढी चिनिन थाल्नुभएको छ । उहाँको रणनीति सधैँ उत्तेजना फैलाउने खालको छ । ‘डोको बोकाएर पहाड पठाउने’ भनाइ होस् या ‘दानापानी रोक्ने’ आन्दोलन, उहाँले द्वन्द्वबाटै राजनीति गर्ने शैली अपनाउनुभएको छ । अहिले पहाडको मुद्दा उठाउनुको पछाडि पनि त्यही रणनीति छ-अर्को लडाइँ सिर्जना गर्ने।
प्रतिक्रिया